
काठमाडौं । ओपनएआईले बुधबार एलन मस्कविरुद्ध एक मुद्दा दायर गर्दै उनलाई उत्पीडन (ह्यारेस्मेन्ट)को आरोप लगाएको छ ।
ओपनएआई कम्पनीका बारेमा अदालतमा कानुनी लडाइँ चलिरहेको अवस्थामा एलन मस्कलाई थप गैरकानुनी र अनुचित कार्य गर्नबाट रोक लगाउन माग गर्दै ओपनएआईले संघीय न्यायाधीशसामु अनुरोध गरेको सीटेक न्युजले जनाएको छ ।
मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानले २०१५ मा एआई कम्पनी सह–स्थापना गरेका थिए । तर, मस्कले उक्त संस्था एआईको क्षेत्रमा ख्याति कमाउनुअघि नै उक्त संस्था छाडेका थिए । तर, २०२३ मा मस्कले आफ्नै एआई फर्म एक्सएआई स्थापना गरेपछि ओपनएआईलाई नाफा कमाउने संस्थामा परिवर्तन गर्न रोक्न खोजेका थिए ।
तर कम्पनीले हालको ४० अर्ब डलरको कोष संकलनका निम्ति यो आवश्यक भएको बताएको छ । यो परिवर्तन वर्षको अन्त्यसम्म पूरा गर्नुपर्नेछ ।
ओपनएआईले क्यालिफोर्निया राज्यको एक संघीय अदालतमा मुद्दा दायर गर्दै मस्कले ओपनएआईलाई हानि पुर्याउने प्रयास गरिरहेको दाबी गरेको छ ।