
काठमाडौं । भारतको प्रमुख विपक्षी दल इन्डियन नेसनल कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीले ११ वर्षदेखि अघोषित संकटकाल लगाइरहेको आरोप लगाएको छ । कांग्रेसले बुधबार प्रधानमन्त्री मोदी नेतृत्वको सरकारको आलोचना गर्दै ११ वर्षदेखि अघोषित संकटकाल लगाइरहेको आरोप लगाएको हो ।
भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७५ मा घोषणा गरेको संकटकाल (इमरजेन्सी)को सन्दर्भमा प्रधानमन्त्री मोदी र सत्तारुढ बीजेपीले आजको दिनलाई भारतको लोकतान्त्रिक इतिहासको ‘सबैभन्दा अन्धकारपूर्ण अध्याय’को रूपमा स्मरण गरिरहँदा प्रमुख विपक्षी दल इन्डियन नेसनल कांग्रेसले यो आरोप लगाएको हो ।
देशको सबैभन्दा पुरानो पार्टीले मोदीको शासन कालमा भारतीय लोकतन्त्रले व्यवस्थित र खतरनाक पाँच तहको आक्रमणको सामना गरिरहेको आरोप लगाएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
इन्डियन नेसनल कांग्रेसले प्रधानमन्त्री मोदी र सत्तारुढ बीजेपीमाथि संविधानमाथिको आक्रमण, कर आतंक, व्यवसाय र संस्थाहरूलाई धम्की, मिडियामाथिको नियन्त्रण, जाँच एजेन्सीहरूको दुरुपयोग, घृँडायुक्त अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको दमन गरेको आरोप लगाएको समाचारमा उल्लेख छ ।
इन्डियन नेसनल कांग्रेसका प्रवक्ता जयराम रमेशले संसद्लाई कमजोर पारिएको, सांसदहरूलाई सार्वजनिक चासोका मुद्दा उठाएकै आधारमा निलम्बन गरिएको र प्रमुख विधेयकहरूलाई आवश्यक बहसबिना जबरजस्ती पारित गरिएको आरोप लगाए । उनले सरकारले संवैधानिक निकायहरूको स्वायत्तता नष्ट गरेको र केन्द्र र प्रान्तको सम्बन्धलाई ध्वस्त पारेको पनि बताए ।
कांग्रेसले मोदी सरकारमाथि डरको वातावरण सिर्जना गरेको आरोप लगाएको छ । विमानस्थल, बन्दरगाह, सिमेन्ट प्लान्ट र मिडिया हाउसहरू एक विशेष व्यवसायी समूहलाई हस्तान्तरण गरिएको आरोप लगाएको छ ।
इन्डियन नेसनल कांग्रेसले सरकारको आलोचना गर्ने पत्रकार र समाचार संस्थाहरूलाई धम्की, गिरफ्तारी र छापा मारेको आरोप लगाएको छ । यसबाहेक इनफोर्समेन्ट डाइरेक्टोरेट (ईडी), सीबीआई र आयकर विभागलाई विभिन्न विपक्षी दलका नेताहरूलाई उत्पीडन र बदनाम गर्न प्रयोग गरिएको बताएको छ ।
कांग्रेसले सरकारका आलोचकहरूलाई खालिस्तानी र सहरी नक्सलभन्दै बदनाम गरेको, अल्पसंख्यकहरू डरमा बस्नु परेको, बीजेपी नेताहरूको घृणापूर्ण आभिव्यक्ति र अपमान सहेर बाँच्नुपरको आरोप लगाएको छ ।
कांग्रेसले यी आरोपहरू लगाउँदा बीजेपी नेताहरूले सन् १९७५ मा इन्दिरा गान्धीले लगाएको संकटकालमा भएको सामूहिक गिरफ्तारी, सेन्सरसिप र नागरिक स्वतन्त्रताको निलम्बनलाई स्मरण गरेका छन् । प्रधानमन्त्री मोदीले पनि सामाजिक संजालमा एक पोस्ट गर्दै उक्त संकटकाललाई ‘भारतको इतिहासको सबैभन्दा अन्धकारपूर्ण अध्याय’ भएको बताएका छन् । टाइम्स अफ इन्डिया