site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चार अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनका लागि भरे उडान

काठमाडौं । चार अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस)का लागि उडान भरेका छन् । उनीहरू सवार एक्सियम–४ मिसन आज भारतीय समयानुसार मध्याह्न १२ बजे प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

प्राविधिक समस्यासहित अन्य कारणले यस मिसनलाई यसअघि धेरैपटक स्थगित गरिएको थियो । एक्सियम–४ मिसन एक कमर्सियल अन्तरिक्ष उडान हो । अमेरिकाको ह्युस्टनको कम्पनी एक्सियम स्पेसले यो अभियान सञ्चालन गरिरहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नासाका अनुसार, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन जानेहरूमा भारतका शुभांशु शुक्लासँगै पोल्यान्डका स्लावोस्ज अज्नान्स्की विज्नियेव्स्की, हंगेरीका टिबोर कापु र अमेरिकाकी पेगी ह्विट्सन छन् । अन्तरिक्षयात्री त्यहाँ दुई हप्तासम्म रहने बताइएको छ ।

आईएसएसका लागि उडान भरेपछि शुभांशु शुक्लाले सबैलाई उनको यात्राको हिस्सा बन्न र सबै मिलेर भारतको मानव अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाउन आह्वान गरेका छन् ।

शुक्लाले भने, “४० वर्षपछि हामी फेरि अन्तरिक्षमा पुगेका छौँ र यो एक अद्भूत यात्रा थियो । यो समयमा हामी साढे सात किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीको वरिपरि घुमिरहेका छौँ । मेरो काँधमा मेरो साथमा भारतको झन्डा छ, जसले मलाई म तपाईं सबैसँग छु भनिरहेको छ ।”

यसअघि, अन्तरिक्ष यात्रा गर्ने राकेश शर्मा पहिलो भारतीय थिए । उनले सन् १९८४ मा रुसी मिसनअन्तर्गत अन्तरिक्ष यात्रा गरेका थिए ।

उनले यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसम्मको यात्रा उनको सुरुवातमात्र नभएर भारतको मानव अन्तरिक्ष कार्यक्रमको सुरुवात भएको बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्