site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रस्तावित भन्सारदर लागु भए स्वदेशी जीआई तार आयातितभन्दा एक रुपैयाँ १८ पैसा महँगो हुने

काठमाडौं । नेपालमा जीआई तार उत्पादन गर्न चाहिने वायर रडमा भन्सारदर बढाएपछि आयातित तयारी जीआई तार सस्तो पर्ने भएको छ । उद्योगीहरूले बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा जीआई तार उत्पादन गर्ने कच्चा पदार्थमा भन्सारदर बढ्दा आयातित तयारी जीआई तारसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने बताएका हुन् । 

समितिमा ग्याबियन वायर टेक प्रा.लि.का प्रबन्ध निर्देशक सम्राट सिंहले जीआई तार उत्पादकको तर्फबाट बोल्दै वायर रडमा भन्सारदर बढ्दा आफूहरूले उद्योग बन्द गर्नुपर्ने स्थिति आएको बताए । जीआई तार उत्पादन गर्न चाहिने कच्चा पदार्थ वायर रड आवश्यक पर्छ । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सेवा लिँदै आएका व्यवसायीले भारतबाट नेपालमा जीआई तार भित्र्याउँदा आफूहरूले उत्पादन गर्ने तार एक रुपैयाँ १८ पैसा महँगो पर्ने सिंहले बताए । 

“जीआई तार भारतबाट आयात गर्दा ६ प्रतिशत भन्सारदरमा ल्याउन सकिन्छ, तर कच्चा पदार्थ ल्याएर नेपालमा जीआई तार उत्पादन गर्दा प्रतिकिलो एक रूपैयाँ १८ पैसा महँगो पर्छ,” उनले भने, “त्यो भनेको वर्षमा प्रतिउद्योग दुईदेखि तीन करोड घाटा हुन्छ । २५ ओटा उद्योगले ६०/७० करोड रुपैयाँ घाटा हुन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

करको नीतिले गर्दा २५ वटा उद्योग बन्द गर्नेबाहेक कुनै पनि उपाय नदेखिएको उनी बताए । भारतबाट प्रतिकिलो ७० रुपैयाँमा जीआई वायर आयात हुने उनको भनाइ छ । तर, नेपालमा उत्पादन हुने जीआई वायर कर र भन्सार दरका कारण ११४ रुपैयाँमा बेच्नुपर्ने बाध्यता रहेको उनले बताए ।  

सरकारले आर्थिक विधेयक, २०८२ मार्फत जीआई तार उत्पादन गर्न चाहिने वायर रडको भन्सारदर बढाएर १० प्रतिशत पुर्‍याएको छ । यसअघि वायर रडमा भन्सारदर पाँच प्रतिशत मात्र थियो । 

कच्चा पदार्थका रूपमा प्रतिकेजी ७० रुपैयाँमा एमएस वायर रड आयात हुने गरेको उद्योगी सिंहले बताए । यसमा भन्सारदर १० प्रतिशत र अन्तःशूल्क प्रतिकेजी पाँच रुपैयाँ लाग्छ । यसरी भन्सार, अन्तःशूल्क र उत्पादन मूल्य जोड्दा प्रतिकेजी कुल ११४ रुपैया कायम हुने व्यवसायीको तर्क छ । यसमा नाफा नराख्दा पनि आयातित जीआई तारभन्दा एक रुपैयाँ १८ पैसा महँगो पर्ने उनीहरूको भनाइ छ । 

साफ्टा सुविधाअन्तर्गत भारतबाट तयारी जीआई तार नेपालमा आयात गर्दा प्रतिकेजी ९७ रुपैयाँ पर्ने र त्यसमा ६ प्रतिशत भन्सार तथा प्रतिकेजी १० रुपैयाँ अन्तःशूल्क लाग्ने बताइएको छ । यसरी भन्सार ६ प्रतिशत र अन्तःशूल्क १० रुपैयाँ लाग्दा प्रतिकेजी ११२ रुपैयाँ ८२ पैसामा नै नेपालमा तयारी जीआई तार आयात हुने व्यवसायी बताउँछन् । 

साफ्टा सुविधा नपाउनेको हकमा ३० प्रतिशत भन्सार लाग्ने भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्माले बताए । बिलेटबाट बन्ने वायर रटमा तह–तह भन्सारदर लाग्ने गरेको छ । “जस्तै स्पन्ज आइरनमा एक प्रतिशत, बिलेटमा पाँच प्रतिशत, वायर रडमा १० प्रतिशतका हिसाबले राख्न भन्सार विभागले प्रस्ताव गरेको हो । वायर रडमा ४५ सय रुपैयाँ अन्तःशुल्क छ,” उपमहानिर्देशक शर्माले भने । 

नेपाल सार्कको सदस्य भएका कारण साफ्टाको पनि सदस्य भएको र साफ्टाको सुविधा पाउँदै आएको शर्माले बताए । यसमा आवद्ध हुन केही प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ । यो सुविधा नेपालले पनि पाउँदै आएको छ । “साफ्टाको सहमतिमा नेपालले पहिले नै हस्ताक्षर गरेको भएर यो दरबन्दी ६ प्रतिशत भएको हो । तर, भन्सार विभागको दर तयारीमा अहिले पनि ३० प्रतिशत छ । १० हजार मेट्रिकटन तयारीको हकमा प्रतिमेट्रिकटन अन्तःशुल्क लाग्छ,” उनले भने, “वायर रडमा ४५ सय मात्र लाग्छ । यही हिसाबले तह–तह मिलाउँदा विभागले यो प्रस्ताव गरेको हो ।” 

उद्योगीका अनुसार, अहिले वायर रडबाट जीर्आ तार बनाउनका लागि २५ वटा उद्योग छन् । यी उद्योगमा ६ हजारजनाले रोजगारी पाएका छन् । यी उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाको १५ अर्बभन्दा बढी लगानी रहेको व्यवसायीको भनाइ छ । अहिलेको भन्सार वृद्धिले नेपाली उद्योगहरूले आयातित जीआई तारसँग प्रतिस्पर्धा गर्न नसक्ने उनीहरूको भनाइ छ । विगतमा पनि भन्सारदर बढाउँदा चार महिना उद्योग बन्द गरेर उद्योगीहरू बस्न बाध्य भएका थिए । 

कर्चा पदार्थमा भन्सारदर बढाएर २५ उद्योग बन्द हुने अवस्थमा पुगेको भन्दै सांसदहरूले चासो देखाएका छन् । विदेशबाट आयात हुने वस्तुमा बढी भन्सार लगाएर नेपालमा उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा भन्सार लगाउन नहुने उनीहरूको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्