
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा एस्टोन भिल्लाविरुद्ध घरेलु टिम पेरिस सेन्ट जर्मन (पीएसजी) ले ३–१ को पुनरागमन जित निकालेको छ ।
बुधबार राति घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजीले १–० ले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको हो । पीएसजीको जितमा डेसाइर डोइ, खभिचा काभारत्स्खेलिया र नुनो मेन्डेसले गोल गरे । पाहुना टिमका मोर्गन रोजर्सले एक गोल गरेका थिए ।
३५औँ मिनेटमा रोजर्सको गोलमा एस्टोन भिल्लाले अग्रता बनाएको थियो । तर, त्यसको चार मिनेटपछि नै डोइको गोलमा पीएसजी खेलमा फर्कियो ।
४९औँ मिनेटमा काभारत्स्खेलियाको गोलमा पीएसजीले २–१ को अग्रता बनायो । यसलाई इन्जुरी समयमा मेन्डेसले ३–१ को स्थितिमा पुर्याए ।
अब यी दुई टिमबीचको दोस्रो लेग एस्टोन भिल्लाको मैदानमा अप्रिल १६ मा हुनेछ ।