
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले जीवनराम श्रेष्ठ नेतृत्वको नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई मान्यता दिएको छ । नेपाल सरकारले ओलम्पिक कमिटीलाई मान्यता नदिएका बेला आईओसीले पत्र पठाएर मान्यता दिएको हो ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई सम्बोधन गर्दै आईओसीले लेखेको पत्रमा ९ अप्रिल २०२५ मा आयोजित एनओसीको साधारणसभाको निर्णय स्वीकार गरेको जनाएको हो ।
उक्त सभाको निर्णय, एनओसीको संशोधित विधान र निर्वाचन परिणामलाई अनुमोदन गरेको आईओसीको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ, “हामी अब तपाईं र निर्वाचित एनओसी नेतृत्वले तपाईंको एनओसीका सबै सदस्यहरूसँग समावेशी र एकीकृत रूपमा नजिकबाट काम गर्नुहुनेछ भन्ने कुरामा भरोसा गरिरहेका छौँ, र सम्बन्धित सरकारी अधिकारीहरूसँग मिलेर ओलम्पिक चार्टर अनुसार र नेपालमा खेलकुद र ओलम्पिक आन्दोलनको हितमा पारस्परिक समझदारी, सम्मान र विश्वासका साथ सामञ्जस्यपूर्ण र फलदायी सम्बन्ध पुनर्स्थापित गर्नुहुनेछ ।”