site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्लानिङ ब्वाइजको उत्कृष्ट लय कायमै, आरसीटी 'रेलिगेसन जोन'मा

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगको छैटौँ चरण सम्पन्न भएको छ । बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबको खेल टुंगिएसँगै लिगको छैटौँ चरण सम्पन्न भएको हो ।

छैटौँ चरण चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चालन भएको थियो । चार दिन चलेको यस चरणमा सात खेल भए, जसमा कुल १५ गोल भए ।

प्लानिङ उच्च स्थानमा कायम
लिगको पहिलो चरणदेखि अपराजित प्लानिङ ब्वाइज युनाइटेडको उत्कृष्ट लय कायमै छ । तालिकाको शीर्ष स्थानमा रहेको प्लानिङले छैटौँ चरणमा आरसीटीविरुद्ध १–० को जित निकालेको थियो । शतप्रतिशत जित निकालेको 'लिग लिडर' प्लानिङले १८ अंक जोडेको छ ।

लिगमा प्लानिङलाई पछ्याइरहेको श्री भगवतीले क्लब पनि अपराजित छ । भगवतीले ६ खेल खेल्दा चारमा जित र दुईमा बराबरीसहित १४ अंक जोडेको छ ।

छैटौँ खेलमा हार खेप्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगसमेत खेलिसकेको रानीपोखरी कर्नर टिम (आरसीटी) 'रेलिगेसन जोन'मा झरेको छ । प्लानिङसँगको हारबाट आरसीटी १२औँ स्थानबाट १४औँ स्थानमा झरेको हो । आरसीटी ६ खेलमा एक जित, एक बराबरी र चार पराजयबाट चार अंकमा सीमित छ ।

यसअघिको संस्करणमा गोल आधारमा एफसी खुमलटारसँग पछि पर्दै आरसीटीले शीर्ष डिभिजन गुमाएको थियो ।

रेलिगेसन जोनमा आरसीटीसँगै नयाँ बस्ती युथ क्लब पनि छ । १३औँ स्थानमा रहेको नयाँ बस्तीले एक जित र दुई बराबरी र तीन हारसँगै पाँच अंक जोडेको छ ।

उच्च गोलकर्तामा फागुराम अगाडि
दुई वर्षभन्दा लामो समयपछि सञ्चालन भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगले छैटौँ चरणसम्म आइपुग्दा कुल ९३ गोल पाइसकेको छ । जसमा शीर्ष टोली प्लानिङ ब्वाइजले १४ गोल गरेको छ ।

उच्च गोलकर्ताको सूचीमा पनि प्लानिङ ब्वाइजका फागुराम थारूले नै स्थान बनाएका छन् । उनले हालसम्म ६ गोल गरेका हुन् । उनले च्यासलविरुद्ध दुई गोल गर्दा सरस्वती, झापा, मध्यपुर र आरसीटीविरुद्धको खेलमा एक–एक गोल गरे ।

उच्च गोलकर्ताको दौडमा फागुरामलाई पछ्याउँदै बाँसबारी क्लबका बिक्की राई र ब्रिगेड ब्वाइज क्लबका पुजन राई र श्री कुमारी क्लबका यमन महर्जनले समान तीन गोल गरेका छन् । 

त्यसबाहेक आरसीटीका सुदीप लामा, बाँसबारीका सन्दीप लिम्बू, सरस्वतीका धिरेन्द्रबहादुर शाह, ब्वाइज युनियनका सञ्जीव लामा, भगवतीका विशालविक्रम सिलवाल, सुलेमान थापा मगर, झापाका प्रदीप बुढाथोकी, ब्रिगेड ब्वाइजका आशिष गुरुङ, विजय उर्न,  प्लानिङ ब्वाइजका सुजन डंगोल, च्यासलका निरज कार्की, आशिष थारू, विरगन्जका विवेक चौधरी र विकास दास थारूले समान दुई गोल गरेका छन् ।

यसबाहेक ४८ खेलाडीले एक–एक गोल गरेका छन् । यस चरणमा कुनै पनि टिमले आत्मघाती गोल बेहोरेनन् । 

छैटौँ चरणमा दुई रातो कार्ड
प्रतियोगितामा सरस्वतीका रोजन थिङ र नयाँ बस्तीका निरज खड्काले आगामी सातौँ चरणका खेल गुमाउने भएका छन् । रोजिन र निरजले छैटौँ चरणमा रातो कार्ड बेहोरेका कारण सातौँ चरणका खेल गुमाउने भएका हुन् ।

रोजनले वैशाख १ गते मध्यपुर युथ एसोसिएसनसँगको खेलमा रातो कार्ड पाएका थिए । उनले वैशाख ५ गते ब्वाइज युनियनसँगको खेल गुमाउने भएका छन् ।

यस्तै, निरजले श्री टुसाल युवा क्लबविरुद्धको खेलमा रातो कार्ड बेहोरेका थिए । उनले वैशाख ५ गते नै श्री भगवती क्लब टोखासँगको खेल गुमाउनेछन् । यसअघि, पाँचौँ चरणसम्म आठ खेलाडीले रातो कार्ड पाएका थिए ।

यस्तो छ तालिका
छैटौँ चरणसम्म आइपुग्दा अंक तालिकामा प्लानिङ ब्वाइजको शीर्ष स्थान कायम छ । प्लानिङले १८ अंक जोड्दा श्री भगवती क्लब टोखा १४ अंकसहित दोस्रो स्थानमा छ । वीरगन्ज र च्यासलसँग समान ११ अंक बनाए पनि गोल आधारमा वीरगन्ज तेस्रो र च्यासल चौथो स्थानमा छन् ।

झापा आठ अंकसहित पाँचौँ स्थानमा रहँदा समान अंकसहित ब्रिगेड ब्वाइज छैटौँ स्थानमा छ । मध्यपुर युथ एसोसिएसन सात अंक सातौँ स्थानमा उक्लिएको छ । तीन बराबरी, एक जित र दुई हारबाट ब्वाइज युनियन ६ अंकका साथ आठौँ स्थानमा छ ।

ब्वाइज युनियनसँगै बाँसबारी क्लब, श्री कुमारी क्लब, श्री टुसाल युवा क्लब र सरस्वतीले पनि समान अंक बनाए पनि गोल अन्तरको आधारमा क्रमश: नवौँ, १०औँ, ११औँ र १२औँ स्थानमा छन् । रेलिगेसन जोनमा नयाँ बस्ती पाँच र आरसीटी चार अंकमा सीमित छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro