
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो बजेटका विषयमा सुझाव दिन नाडालाई आग्रह गरेका छन् । मंगलबार (चैत २६) काठमाडौंमा सुरु ‘नाडा अटो डायलग २०८१’ मा उनले प्राप्त हुने सुझाव बजेटमा कार्यान्वयन गर्न तयार रहेको बताए ।
नेपालको अटो मोबाइल क्षेत्रमा निजी क्षेत्रले ठूलो योगदान गरेको उनले उल्लेख गरे । उनले व्यापारबाट सुरु यो व्यवसाय हाल उत्पादनतर्फ गएको बताए । आकारमा सानोठूलो जे भए पनि गुणस्तरीय वस्तुमार्फत विश्वबजारमा जान सकिने उनको भनाइ थियो ।
नाडालाई परेको समस्याका बारेमा बसेर छलफल र समाधान खोज्न सकिने उनले बताए । उनले सरकार अटोमोबाइल क्षेत्रलाई ‘प्रमोट’ गर्नुपर्छ पक्षमा रहेको स्पष्ट पारे । त्यसनिम्ति सरकारले सहज नीति बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अटो मोबाइल क्षेत्रले सरकारको राजस्वमा ठूलो योगदान दिइरहेको बताए ।
पछिल्लो समय देशबाट धेरै युवा विदेशिएको र मुलुक खाली भएको भाष्य सिर्जना भइरहेको भन्दै उनले असन्तुष्टि जनाए ।
वैदेशिक रोजगारीमा जानेलाई सबैलाई एकै ठाउँमा राखेर हेर्न नहुनेमा उनले जोड दिए । हालसम्म ७० लाख बढी नेपाली वैदेशिक रोजगारीका निम्ति विदेशिएको र कतिपय सीपसँगै स्वदेश फर्किएको उनले बताए ।