site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीन सुरक्षा संगठनको निष्कर्ष : फिल्ड कमान्डरको संयमताले ठूलो मानवीय क्षति रोकियो

काठमाडौं । तीनकुनेमा भएको अराजक प्रदर्शनमा सुरक्षा सयन्त्र कमजोर नभई संयमता अपनाएको दाबी तीनवटै सुरक्षा संगठनले स्पष्ट पारेका छन् । 

शुक्रबार राज्यव्यस्था तथा सुशासन समितिमा सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका एआईजीले तीनकुने घटनामा सुरक्षा सयन्त्र नचुकेको, तर संयमित भएको दाबी गरेका हुन् ।

नेपाल प्रहरीका आईजीपी दीपक थापाले सुरक्षा संयन्त्रको आपसी कोर्डिनेसन (संयोजन)अनुसार नै सुरक्षाकर्मी परिचालन भएको र संयमता अपनाएर प्रदर्शन रोक्ने प्रयास भएको बताएका हुन् ।

आईजीपी थापाले भने,‘‘दुर्गा प्रसाईंले प्रहरीलाई किच्नेगरी गाडी ल्याउँदा पनि सकेसम्म सरकारले कार्याक्रम गर्न अनुमति दिएको ठाउँमा कार्यक्रम गरून् भनेर हामीले नियन्त्रणमा लिएर पनि मञ्चतर्फ पठाएका हौँ । तर, उनीहरूको योजना नै आपराधिक घटना गराउने रहेछ । त्यही गरे ।’’

सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले पनि फिल्डमा खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले आवश्यकताभन्दा बढी लचकता अपनाएको बताए ।

अर्यालले भने,‘‘प्रदर्शनमा उत्रिएको अराजक भिडले सशस्त्र प्रहरी बलको सञ्चार सेट र ग्यास गन समेत लुट्दा पनि मानवीय क्षति कम होस् भनेर लचकता अपनाएको हो ।’’

सञ्चार सेट फेला परे पनि अझैँ ग्यास गन भने फेला नपरेको उनको भनाइ छ । राज्यव्यवस्था समितिमा उपस्थित राष्ट्रिय अनुसन्धान विभागका एआईजी टेकेन्द्र कार्कीले पनि गुप्तचर विभागले पाएको साना–साना सूचना प्रहरीलाई उपलब्ध गराउँदा ठूलो क्षति हुनबाट बचेको जानकारी समितिलाई गराएका थिए ।

तीनकुने घटनाका कमान्डर मुख्य आरोपी दुर्गा प्रसाईंको खोजी जारी रहेको आईजीपी थापाले बताएका छन् । प्रहरीले उनको गाडी फेला पारे पनि उनलाई भने नियन्त्रण गर्न सकेको छैन ।

प्रसाईं भागेर भारत पुगेको आशंका गरिएको छ । आईजीपी थापाले प्रसाईं चढेको गाडी इटहरीबाट नियन्त्रणमा लिए पनि दुर्गा गाडीमा सवार भएको/नभएकोबारे अझै नखुलेको बताए ।

पत्रकार सुरेश रजकलाई बचाउने प्रयास गरेर आगलागी भएको घरभित्र सशस्त्र प्रहरी बलको टोली पटक–पटक पुगे पनि ढोकामा ताल्चा लागेका कारण भित्र रहेको अनुमान गर्न नसक्दा उद्धार हुन नसकेको उनले बताएका छन् ।

शुक्रबार राज्यव्यवस्था समितिमा गृहमन्त्री रमेश लेखकले समेत सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए । गृहमन्त्री लेखकले समेत सुरक्षा संयन्त्रले लचकता देखाएको बताएका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro