
काठमाडौं । नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक कुकीवन कप तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने भएको छ ।
मंगलबार तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालयले पत्रकार सम्मेलन आयोजना गरी च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिएको हो ।
आयोजकका अनुसार प्रतियोगिता वैशाख ४ देखि ७ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा कुल ९८ स्वर्ण पदकमा ७०० बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सातदोबाटोस्थित तेक्वान्दो हलमा हुनेछ ।
९८ स्वर्णमध्ये पाँच उमेर समूहमा २४ स्वर्णमा ब्रेकिङ विधातर्फ साइड किक ब्रेकिङ, फिस्ट ब्रेकिङ, नाइफ ब्रेकिङ, हाई जम्पब्रेकिङ, अल राउन्ड ब्रेकिङ गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ । जसमा जुनियरतर्फ यू–१२, जुनियर दोस्रो (१३–१४), जुनियर तेस्रो (१६–१८) र सिनियर प्रथम ( १९–२९) र सिनियर दोस्रो (३०–५९) उमेर समूहले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसैगरी कुकीवन मान्यता प्राप्त आथोराइज पोम्सेतर्फ पाँच उमेर समूहमा एकल, जोडी र सामूहिक पोम्सेमा गरी तीन समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी तेक्वान्दो एरोबिक्समा महिला र पुरुष गरी पाँचदेखि सातजनासम्मको टिम बनाई जुनियर तथा सिनियर उमेर समूहमा प्रतिस्पर्धा हुनेछ भने टिम ग्यारोगी वा टिम फाइटमा महिला र पुरुषका छुट्टै समूहमा यू–१२, यू–१८ र यू–२९ गरी तीन उमेर समूहमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिातको अनुमानित बजेट २१ लाख १५ हजार रुपैयाँ रहेको जनाइएको छ । आयोजकले प्रतियोगितामा आवश्यक मेडलहरू कुकीवनले उपलब्ध गराउने जानकारी दिएको छ ।