
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब र मध्यपुर युथ एसोसियसनबीचको खेल बराबरीमा टुंगिएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न दोस्रो खेलमा मध्यपुर र भगवतीबीचको खेल एक–एकको बराबरीमा टुंगिएको हो ।
भगवतीले खेलको पहिलो हाफमा नै अग्रता लिएको थियो । मध्यपुरले भने दोस्रो हाफमा गोल फर्काउँदै बराबरी गरेको हो ।
खेलको १९औँ मिनेटमा भगवतीका विक्रान्तसिंह रानाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ६१औँ मिनेटमा मध्यपुरका साहिल केसीले गोल गर्दै खेलमा फर्काए ।
बराबरीसँगै भगवतीले तालिकामा २३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको भगवतीले पाँचौँ बराबरी खेल्दै ११ खेलमा ६ जित र पाँच बराबरीबाट २३ अंक जोडेको हो । भगवती शीर्ष डिभिजननजिक पुगेको छ । शीर्ष डिभिजनमा भगवतीले बाँकी दुई खेलमध्ये एक खेलमा मात्र जित निकाले शीर्ष डिभिजनमा बढुवा हुनेछ ।
मध्यपुर भने बराबरीबाट १२आँै यथावत् छ । मध्यपुर ११ खेलमा तीन जित, तीन बराबरी र पाँच हारबाट १२ अंकका साथ १२औँ स्थानमा यथावत् रहेको हो । बराबरी भए पनि टोली अझै रेलिगेसन जोनको खतरामा छ ।