
काठमाडौं । प्रतिनिधिसभाले १० भन्दा बढी बैठकमा अनुपस्थित भएका सात सांसदको बिदा स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले बिदा स्वीकृत गरेको हो । जसमा सहकारी ठगी प्रकरणमा फरारदेखि विदेश भ्रमणमा रहेका सांसदसम्म छन् ।
नेपाली कांग्रेसकी सांसद मनोरमा शेरचन माघ २ गतेदेखि बिदामा रहेको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनी थेरापीका कारण २७ बैठकमा अनुपस्थित रहेको जानकारी सभामुखले गराए ।
सभामुखका अनुसार, कांग्रेसकै सांसद लीलादेवी बोखिम लिम्बु फागुन ११ गतेदेखि पारिवारिक कामले बेलायत भ्रमणमा छिन् । उनी १४ बैठकमा अनुपस्थित भएकी थिइन् ।
कांग्रेस सांसद सरस्वती बजिमय फागुन २८ देखि देशबाहिर रहेकाले ११ बैठकमा अनुपस्थित रहेको घिमिरेले सूचना सुनाए ।
यस्तै, कांग्रेसका सांसद रमेश रिजाल फागुन २५ गतेदेखि बिदामा रहे । उनी वैदेशिक भ्रमणमा रहेकाले १२ बैठकमा अनुपस्थित रहे ।
कांग्रेसका सभापति शेरबहादुर देउवा ११ बैठकमा अनुपस्थित रहे । पार्टीको कार्यक्रममा व्यस्त रहेकाले बैठकमा अनुपस्थित रहेको सूचना सभामुखले सुनाए ।
सहकारी ठगी प्रकरणको आरोपपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद गीता बस्नेत फरार छिन् । प्रहरीले उनलाई फरारको सूचीमा राखेको छ । उनी सदनको हिउँदे अधिवेशनभर अनुपस्थित रहिन् । यस अधिवेशनमा २७ वटा बैठक बसेको थियो । उनी स्वास्थ्य उपचारमा रहेको सूचना सभामुख घिमिरेले प्रस्तुत गरे ।
उता, राप्रपाकै सांसद दीपक बोहोरा २१ बैठकमा अनुपस्थित भएको सूचना सभामुखले सुनाए । उनको मंगलबारमात्रै निधन भएको छ ।
सभामुखले सुनाएको बिदाको सूचना संसद्बाटै पारित भएको छ ।