site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुरक्षा विश्लेषण– तीनकुनेमा प्रदर्शन गर्न दिनु नै ‘महागल्ती’ 

काठमाडौं । गणतन्त्रवादी र राजावादीले एकैदिन काठमाडौंमा शक्ति प्रदर्शन गर्ने पूर्वघोषित कार्यतालिका थियो । 

जिल्ला सुरक्षा समितिले गणतन्त्रवादी राजनीतिक दललाई प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप र राजावादी समूहलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दियो । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा (माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) ले गरेका थिए । 

राजावादीहरूको नेतृत्व पूर्वमहापञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका थिए । प्रदर्शनको ‘कमान्डर’ भने ‘विवादित’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको थियो ।

गणतन्त्रवादीको प्रदर्शन शान्तिपूर्ण चल्यो । उता, प्रसाईं नेतृत्वको राजावादी समूह अराजकतामा उत्रिएपछि तीनकुनेको अवस्था तनावग्रस्त बन्यो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका–४ का २९ वर्षीय युवा सविन महर्जनको मृत्यु भयो ।

राजावादी प्रदर्शनकारीले व्यक्तिको घरमा लगाएको आगजनीमा परी पत्रकार सुरेश रजकको ज्यान गयो । 

जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी अपिलराज बोहराका अनुसार, प्रदर्शनकारीले तीनकुने, कोटेश्वर जडिबुडी गरी ९ वटा कार्यालय तथा घरहरूमा तोडफोड तथा आगजनी गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाटसमेत गरे । सडकमा गुडिरहेका सरकारी र निजी गरी १५ वटा गाडीमा आगजनी गरेका छन् छ । 

राजसंस्था पुनःस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।  तर, व्यक्तिका निजी सम्पत्ति नै प्रर्दशनकारीको निसानामा परे । राजावादीको शुक्रबारको प्रदर्शन अराजक बनेपछि भने शनिबार उपत्यकाभरको सुरक्षा अवस्था कडा पारिएको छ ।

सडकमा शनिबार राजावादीहरूको प्रदर्शन भए सुरुवातमै दमन गर्न गृह मन्त्रालयको निर्देशन छ ।  प्रदर्शनलाई अराजक बनाउन तीनकुने पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्र र धवलशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीसँगै स्वागत नेपाल र शनिबार बिहानै दुर्गा प्रसाईंका गुरु पुस्कर खतिवडासमेत पक्राउ परेका छन् ।  राजावादीका ‘जनकमान्डर’ प्रसाईं भने फरार छन् ।  उनको खोजी गर्न प्रहरी टोलीहरू खटिएको छ । तर, शुक्रबारदेखि खोजी गरिएका प्रसाईंलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

राजावादीको प्रदर्शन अराजक हुने सूचना सुरक्षा संयन्त्रलाई हुँदासमेत रोक्न असफल भएको छ ।  शुक्रबार साँझ नै गृहमन्त्रीसहितको आकस्मिक बैठकले सुरक्षा सयन्त्र चुकेको निष्कर्ष निकालेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ चारवटै सुरक्षा फौजका प्रमुखहरूसँग घटनाबारे जानकारी लिएका छन् ।

सुरक्षा प्रमुखका बिफ्रिङमा प्रधानमन्त्रीले शनिबार राजावादी प्रदर्शनमा उत्रिए जहाँ भेटिन्छन्, त्यहीँबाट पक्राउ गर्न निर्देशन दिएका छन् ।  राजावादीहरूको नेतृत्व गर्ने पूर्वमहापञ्च नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ ।

प्रदर्शनस्थल तीनकुने दिने निणर्य नै गलत

सुरक्षा अधिकारीका अनुुसार, राजावादीको प्रदर्शनस्थल जिल्ला सुरक्षा समितिले तीनकुने उपलब्ध गराउनु नै गम्भीर त्रुटि रहेको औल्याएको छ ।

एक सुरक्षा संगठनका प्रमुख भन्छन्, ‘‘राजावादीको प्रदर्शनस्थल तीनकुने तोक्नु नै कमजोरी भयो । सबैभन्दा सुरक्षा संवेदनशील मानिने संघीय संसद् भवन त्यहीँ नजिक छ । केही प्रमुख राजनीतिक दलका पार्टी कार्यालयसमेत त्यही भएको ठाउँमा प्रदर्शन गर्नु दिने निणर्य उचित थिएन ।’’

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भने सुरक्षा विश्लेषणकै आधारमा तीनकुने उपलब्ध गराएको बताए । 

उनले भने, ‘‘सुरक्षा विश्लेषणकै आधारमा हामीले ठाउँ उपलब्ध गराएका हौँ । तर, प्रदर्शन अराजक भयो । हामीले त्यही विश्लेषणका आधारमा कानुनअनुसार कारबाही गर्छौ । त्यो ठाउँबारे हामी समीक्षा गर्दैछौँ ।’’
राजावादी शुक्रबारको अराजक प्रदर्शन सुरुमै रोक्न सक्ने जनशक्ति परिचालन गरिएको थियो । 

तर, आवश्यक समन्वयको अभावमा सुरक्षा रणनीति फेल भएको हो ।  फिल्डमै खटिएको प्रहरी टोलीबीच समन्वयको अभाव देखिएको थियो । त्यसबाहेक सशस्त्र प्रहरी बल र प्रहरीबीचको समन्वय हुन नसकेको फिल्डमा खटिएका प्रहरी अधिकारी बताउँछन् । 

प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं स्वयम् आफ्नो निजी गाडी हाँक्दै निषेधित क्षेत्र तोड्नुअघि नै दुई पटक प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । तिनले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

फिल्डमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, बानेश्वरतर्फको निषेधित क्षेत्र तोड्न सुरुमा राजावादी समूह कोटेश्वरबाट अघि बढेर तीनकुने पुगेका थिए ।

तर, प्रहरीको टोलीले समूहलाई रोक्न सफल भयो । राजावादीको समूहले निषेधित क्षेत्र तोड्न असफल भएपछि हिन्दू युवासंघका अध्यक्ष पुस्कर खड्काको टोलीले निषेधित क्षेत्र तोड्ने प्रयास गर्‍यो । 

तर, प्रहरीले त्यो समूहको प्रसायसमेत बिफल पार्‍यो । तर, त्यतिबेलासम्म फिल्डमा खटिएका प्रहरी टोलीको मानोबल गुमिसकेको थियो । प्रहरीको कमाण्ड जिल्ला प्रहरी परिसरका एसपी अपिल बोहराको टोलीले गरेको थियो ।

एसपी बोहराले अवस्था नियन्त्रणबाहिर जान खोजेको र दुर्गा प्रसाईं पुग्दा अवस्था नियन्त्रण बाहिर पुग्ने विश्लेषण गर्दै अफ्नो सेटमार्फत प्रसाईं आउने भनिएको भक्तपुर रुटबाटै नियन्त्रणमा लिनुपर्ने रिपोर्टिङ गरे । तर, माथिल्लो निकायबाट प्रसाईंलाई नियन्त्रणमा लिँदा माहौल बिग्रिने जवाफ आएपछि एसपी बोहराको टोली पछि हट्यो । प्रसाईं आफैँले गाडी हुँइकाउँदै निषेधित क्षेत्र तोड्न तम्सिए । उनी सफल भए ।

त्यसपछि अवस्था झन् भयावह बन्न पुगेको हो । प्रसाईंले निषेधित क्षेत्र तोड्दा समेत उनलाई नियन्त्रणमा लिन प्रहरी असफल भयो । जसकारण माहौल अझ बिग्रिदै गयो ।

प्रदर्शनकारीले पछि भने घर–घरमा आगो र ढुंगामुढा प्रहार गर्न थालेका हुन् । आन्दोलन चर्र्किएपछि प्रहरीको एउटा टोली नै बीचमा फँसेको थियो । नगर प्रहरीका प्रहरी निरीक्षक तिलक बमको नेतृत्वमा खटिएको १० जनाको टोलीलाई ‘रेस्क्यू’ गर्न नै प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

यसअघि दुर्गा प्रसाईं नेतृत्वको टोलीले २०८० मंसिरमा बल्खुमासमेत यही शैलीको प्रदर्शन गरेको थियो । त्यो बेला भने माहौल पूर्णरुपमा नियन्त्रण प्रहरी सफल भएको थियो ।

उता प्रदर्शनकारीले सशस्त्र प्रहरी बलको ग्यास राउण्ड बन्दुक नै खोसिसकेको थियो । सशस्त्र प्रहरी बलको बन्दुक अझै नियन्त्रण गर्न नसकिएको सशस्त्र प्रहरी बलका डीआईजी कुमार न्योपानेले बताए ।
 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro