-1743151490.jpg)
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले ५१ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
त्यस्तै, प्रदर्शन क्रममा निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायत साधनहरूमाथि तोडफोड, आगजनी लगायतका आपराधिक घटना भएको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीहरूको आक्रमणमा परेर नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारी ३५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्बल हाउस, कोटेश्वर महादेवस्थान, विमानस्थल कार्गोको कम्पाउन्डभित्र, कोटेश्वर गणेश चोक, भाटभटेनी नजिक सरकारी गाडीमा र जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगलागी भएको प्रहरीले बताएको छ ।
त्यस्तै, एकीकृत समाजवादी पार्टी कार्यालय, बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो, बानेश्वर पुल पारिपट्टि, एयरपोर्टनिर, इन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल, रोयल रेस्टुरेन्ट, एरोम्याक्सको कार्यालय रहेको भवन लगायत १४ स्थानमा आगलागी भएको छ ।
अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर मिडिया हाउस, केएमसी अस्पताल, सिनामंगलस्थित डिआइए अगाडि बन्दै रहेको नयाँ भवन, प्रहरी बिट सिनामंगल, भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर र समाजवादी पार्टी कार्यालय, वाग्मती करिडोरमा क्षति भएको जनाइएको छ ।
कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटमा चोरी तथा लुटपाट भएको पनि प्रहरीले जानकारी दिएको छ ।