
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पूर्वराजाका समर्थकहरूले गरेको प्रदर्शन अराजक भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले एक विज्ञप्ति जारी गर्दै उनीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा आफ्नो पार्टी कार्यलय, विभिन्न सञ्चारगृह, मार्बल हाउसमा तोडफोड तथा आगजनी गरेको घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
गणतन्त्र, संविधानी र व्यवस्था विरोधीहरूद्वारा गरिएको विध्वंसात्मक प्रदर्शनले निजी पसल, भाटभटेनी सुपरमार्केटमा भएको लुटपाट, जडीबुटी उत्पादन कारखानामा आगजनी भएकामा दुःख प्रकट गर्दै अराजक गतिविधि रोक्ने कार्यमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले उनीहरूले प्रहरीमाथि ढुंगामुढा, निजी घरहरूमा आक्रमण तथा कोटेश्वरमा पार्टी अध्यक्षको निवासमा समेत आक्रमणको प्रयास गरेको साथै पत्रकारको हत्या गरेको घटनालाई अराजनीतिक, अराजक र निन्दनीय रहेको बताए ।