
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को महासचिवमा नेपालका पुरुषोत्तम कट्टेल नियुक्त भएका छन् । निवर्तमान महासचिव अन्वरुल हकले राजीनामा दिएपछि उनको स्थानमा साफले कट्टेललाई जिम्मेवारी दिने निर्णय गरेको हो । हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको साफले जनाएको छ । हक सन् २०१५ देखि साफ महासचिवको जिम्मेवारीमा थिए ।
“म साफको महासचिवका रूपमा जोडिन पाउँदा निकै उत्साहित छु । यो मेरा लागि एक ठूलो अवसरका साथसाथै चुनौती पनि हो,” कट्टेलले भने, “मैले फुटबलमा करियर सुरुआत गरेदेखि नै दक्षिण एसियाको फुटबललाई नजिकबाट नियालेको छु । यो क्षेत्र निकै चुनौतीपूर्ण छ, तर पनि अहिले यो क्षेत्रमा पछिल्लो समय फुटबल माहोल बढ्दै गइरहेको छ । र, यो क्षेत्रको भविष्य उज्यालो छ भन्ने कुरामा म विश्वस्त छु ।”
नवनियुक्त महासचिव कट्टेलले आगामी अप्रिल १ देखि जिम्मेवारी सम्हाल्नेछन् । कट्टेल यसअघि एएफसीको दक्षिण एसिया युनिटका प्रमुख थिए । उनले यसमा १७ वर्ष जिम्मेवारी निभाएका थिए ।