
जोया मतिन
मुम्बई । करिब १५ वर्षअगाडि भारतमा एक साधारण पृष्ठभूमिका र्यापर हिपहप संगीतमा प्रवेश गरे । त्यसपछि यसलाई पूर्ण रूपमा आफ्नै रङमा रंगाइदिए ।
उनका गीत विवाह र क्लबहरूमा धेरै बजाइन्थ्यो । उनका गीत सडकछेउको चिया पसलदेखि ठूला पार्टीहरूसम्म ठूलठूलो आवाजमा घन्काइन्थ्यो । ती गीतले स्रोतालाई मनको शान्ति दिनुका साथै उनीहरूलाई मन्त्रमुग्ध बनाउँथे ।
तर, आफ्नो करिअरको शिखरमा हुँदा उनी अचानक गायब भए । सात वर्षपछि ‘यो यो हनी सिंह’ संगीतको संसारमा फर्किएका छन् । र, एक नयाँ एल्बमका साथ सांगीतिक टुर गर्दै छन् ।
लागुऔषधको लतसँग जुध्दै र मानसिक स्वास्थ्यसँग संघर्ष गर्दै गर्दा उनी हाल आफूलाई परिवर्तन गर्ने जिकिर गरिरहेका छन् ।
श्रीमतीले लगाइन् घरेलु हिंसाको आरोप
नेटफ्लिक्सको डकुमेन्ट्री ‘यो यो हनी सिंह : फेमस’मा पत्रकार भानुज कप्पलले ४१ वर्षीय गायक तथा निर्माता कुनै समय भारतका सबैभन्दा ठूला संगीत स्टारमध्ये एक रहेको बताएका छन् । एक व्यक्ति जसले “हिपहप संगीतको सांस्कृतिक प्रभावलाई अझ बढावा दिए,” उनले भनेका छन् ।
उनी जति चर्चित थिए, त्यति नै विवादास्पद पनि । हनी सिंह आफैँ आफू एक ‘आक्रामक र लापरवाह व्यक्ति’ भएको स्वीकार गर्छन् । निरन्तर आफ्नो संगीतका माध्यमबाट अश्लीलता, व्यभिचार र हिंसालाई बढावा दिएको उनीमाथि आरोप लगाइएको थियो ।
केहीले उनका गीतको आलोचना गर्दै महिलामाथि हुने हिंसा र बलात्कारलाई चित्रण गरिएको बताएका छन् ।
मिडियामा उनको छवि थप धूमिल भयो, जब प्रेमिका र पूर्वपत्नीले घरेलु हिंसाको आरोप लगाउँदै सम्बन्धविच्छेदको मुद्दा दायर गरे । सिंहले भने उक्त आरोपको खण्डन गरे ।
अब हिटमेकर रहेनन्
सात वर्षपछि अब यी गायक हिटमेकर रहेनन्, जबकि कुनै समय आफ्ना उत्तेजक गीतहरूका साथ संगीत उद्योगमा राज गर्थे ।
पछिल्लो सात वर्षमा संगीतको दुनियाँमा धेरै परिवर्तन भयो । भारतीय हिपहपमा पनि परिवर्तन आएको छ । कुनै समय हनी सिंहको आवाजबाट प्रभावित कलाकारले हाल उनलाई उछिनेका छन् ।
‘यो यो हनी सिंह’को स्टाइल पनि परिवर्तन भएको छ । कुनै समय ‘ब्रह्माण्डका सर्वज्ञ गुरु’का रूपमा वर्णन गरिएका हनी सिंह हाल आफूलाई ईश्वरसँग डराउने व्यक्तिका रूपमा चिनाउँछन् । उनी हाल ईश्वरमा विश्वास गर्ने, जीवनको उतारचढावमा विश्वास गर्ने र ‘वैज्ञानिक ज्योतिषी’मा विश्वास गर्ने बताउँछन् ।
उनी आफ्नो संगीत शान्त र भद्र रहेको जिकिर गर्छन् । यो ‘ड्रग्स’भन्दा गहिरो भएको उनको भनाइ छ ।
तर, उनका फ्यानको फरक मत छ । उनीहरू हनी सिंह अब पहिलाको जस्तो नरहेको बताउँछन् । उनले आफ्नो धरातल गुमाइसके । उनका नयाँ गीतमा कुनै दम छैन ।
कप्पल भन्छन्, “उनका यस्ता डाइहार्ट स्रोता/दर्शक छन्, जो सधैँ उनीसँग रहनेछन् । तर, उनीहरूको दृष्टिकोण पुरानो र प्रचलित फेसनभन्दा बाहिर छ ।”
सिंह हार मान्न तयार छैनन्
हनी सिंह अझै हार मान्न तयार छैनन् ।
हनी सिंह न त लुकिरहेका छन् न त लागुपदार्थको लतका साथ आफ्नो संघर्षको रक्षा गरिरहेका छन् । बरु, उनले यसलाई आफ्नो पुनरागमनको केन्द्रविन्दु बनाएका छन् ।
उनी खुलेआम लागुपदार्थको लत र त्यसपछि आफूले मानसिक स्वास्थ्यको सामना गर्नुपरेको बताउँछन् । ‘लागुपदार्थले मलाई पूरै तहसनहस बनायो,” उनले एक डिजिटल न्युज प्लेटफर्मसँग भने, “मैले प्रसिद्धि, पैसा र महिलाका लागि आफैँलाई बर्बाद गरेँ । म शैतानजस्तै थिएँ, पूर्ण शैतान ।”
एक अन्तरक्रियामा उनी रमाइलो र शान्त देखिन्छन् । उनी पीडित थिए, तर हाल प्रस्टसँग सबै कुरा भनिरहेका छन् । उनले आफ्नो भित्री कमजोरीसँग जुध्दै अब वास्तविकता थाहा पाएका छन् ।
उनले केही समयअगाडि मात्र भनेका थिए, “तपाईं जे गर्नुहुन्छ, त्यसकै परिणाम पाउनुहुन्छ । म फसेको ठाउँबाट बाहिर निस्कन मलाई समय लाग्यो । तर, अहिले म फर्केको छु ।”
हृदेश सिंहदेखि यो यो हनी सिंहसम्मको सफर
यो यो हनी सिंहको नाम हृदेश सिंह हो । उनको जन्म पञ्जाबमा भएको थियो । उनी दिल्लीको सानो गाउँमा हुर्केका थिए । त्यहीँबाट उनले आफ्नो संगीतलाई आकार दिए । सुरुका वर्षहरू कठिन थिए, यसको एक अंश अझै उनको काममा देख्न सकिन्छ ।
“यो बस्ती मेरो घर थियो, मेरो इलाका थियो र सधैँ त्यहाँ रहनेछ,” उनी प्रायः आफ्नो कुराकानीका क्रममा सुनाउँछन् ।
संगीतमा करिअर खोज्ने विषयमा उनी सुरुमै स्पष्ट थिए । कलेज डीजेका रूपमा करिअर सुरु गरेका उनी त्यसपछि पूर्णतः संगीत सिर्जनामा लागे । उनी भन्छन्, “म गीत गाउन वा लेख्न चाहन्नथेँ, म सधैँ बिट्स र संगीतमा काम गर्न चाहन्थेँ ।”
पञ्जाबमा केही वर्ष सानोतिनो निर्माताका रूपमा काम गरेपछि उनले महसुस गरे, यो पर्याप्त छैन । उनी भन्छन्, “मेरो आवाज त्यस ठाउँका लागि धेरै सहरी थियो । त्यहाँका मानिसले यसलाई बुझ्न सकेनन् । यसका लागि मैले पञ्जाबबाट बाहिर जानुपर्यो ।”
२०११ मा पहिलो ‘ब्रेकआउट’
हनी सिंहले सन् २०११ मा आफ्नो एकल ‘ब्रेकआउट’ एल्बम ‘द इन्टरनेसनल भिलेजर’ सार्वजनिक गरे । उनले हिपहपका साथ पञ्जाबी ड्रम र स्ट्रिङ धुन मिसाएर केही नयाँ सिर्जना गरे । त्यो बिलकुल फरक थियो ।
सुरुका तीन महिनामा यो सूत्र असफल भयो । त्यसपछि अचानक सबै कुरा परिवर्तन भयो । रातारात यी गीत ‘भाइरल’ भए । संगीतको चार्टमा शीर्ष स्थानमा रहे । अवार्ड जिते । उनले ठूलो फड्को मारे । हनी सिंहले बलिउडमा स्थान पाए ।
ब्राउन रङ – एक सामान्य मानिसको विश्वव्यापी महत्त्वाकांक्षाका बारेमा लेखिएको यो गीत सन् २०१२ मा युट्युबको सबैभन्दा धेरै हेरिएको भिडियो बन्यो । दुबईमा १० लाख अमेरिकी डलरको बजेटमा फास्ट कार, त्यस्तै लुगा, रत्नजडित घडी र शक्तिशाली बिट्सका साथ सुनको चेनमा छायांकन गरिएको यो गीतले भारतीयलाई हिपहपको चमकसँग परिचित गरायो ।
महिलाविरोधी गीतको चर्को आलोचनाबीच सिंहका कन्सर्टमा रंगशाला भरिभराउ हुन्थे । एकपछि अर्को हिट गीत दिए । उनले शाहरुख खान र अक्षय कुमारजस्ता बलिउड स्टारका निम्ति पनि गीत गाए ।
एक डिजिटल प्लेटफर्मलाई दिएको अन्तर्वार्तामा उनले भने, “कहिलेकाहीँ मेरा गीतका शब्दहरू बेकार हुन्थे । मलाई पनि यो थाहा थियो । तर, मानिसले अझै पनि यसलाई सुन्थे, किनकि संगीत राम्रो र फरक थियो ।”
प्रसिद्धिसँगै पतन
हनी सिंहको प्रसिद्धिसँगै पतन पनि भयो । “म रक्सीमा डुबेँ । रक्सी खाएर १२ देखि १५ वटा जोइन्ट पिउँथेँ । मैले आफ्नो परिवारलाई छोडेँ,” उनले भनेका छन्, “मैले आफ्नो नियन्त्रण गुमाएँ । एकपटक त म यति नशामा थिएँ कि मैले एकजना साथीको पेटमा आठचोटि काटिदिएँ ।”
सिंहले सन् २०१७ मा ‘ब्रेकअप’ गरे । संगीत र लागुपदार्थको दुर्व्यसन त्यागेर उनी दिल्ली फर्किएका थिए । यहाँ उनले चिकित्सकको निगरानीमा आफ्नो उपचार गराउन थाले ।
उनले आफ्नो परिवारलाई आफू मानसिक रूपमा अस्वस्थ रहेको बताएका थिए । “जबसम्म म निको हुँदिनँ, तबसम्म म केही गर्न सक्दिनँ भनेको थिएँ,” उनले भने ।
सात वर्षदेखि आफूले रक्सी पिउन छोडेको भन्दै उनी कहिलेकाहीँ बियर मात्र पिउने गरेको दाबी गर्छन् ।
नेटफ्लिक्सको डकुमेन्ट्री ‘यो यो हनी सिंह : फेमस’मा उनले भनेका छन्, “म नर्कमा गएर अहिले फर्किएको छु । अहिले पनि औषधिका कारण बिहान उठ्दा अस्पष्ट महसुस हुन्छ ।”
इमानदारिताका निम्ति फिदा प्रशंसक
हनी सिंहका फ्यान उनको इमानदारिताबाट खुसी छन् । आत्मघाती प्रवृत्तिलाई नियन्त्रण गर्न उनले गरेको प्रयासको प्रशंसक कदर गर्छन् ।
दिल्लीकी एक छात्रा नन्दिनी गुप्ता भन्छिन्, “कोही पनि परिपूर्ण हुँदैन । तर, कमसेकम सिंह राम्रो हुने कोसिस गरिरहेका छन् । उनले केही समयका निम्ति संगीत उद्योग छोडेका हुन सक्छन्, तर उनको संगीत रोकिएको छैन ।”
अरूले यो परिवर्तनलाई ढोँगका रूपमा लिन्छन् । बुशरा नेयाजी भन्छिन्, “उनको संगीत अलि कमजोर छ । उनको संगीतले महिलालाई वस्तुका रूपमा हेर्छन् । केवल पैसा र प्रसिद्धिका बारेमा कुरा गर्छन् ।”
तर, हनी सिंहको पुनरागमन उनका स्रोता/दर्शकका निम्ति एक चुनौती हो, जसले समस्याग्रस्त अतीतलाई स्वीकार गर्न र मौका दिन उत्प्रेरित गर्छ ।
हनी सिंह आफू फर्किसकेको बताउँछन् । “म सात वर्षका निम्ति टाढा थिएँ । तर, अर्को सात वर्षमा म फेरि सबैलाई मन्त्रमुग्ध पार्नेछु,” उनी अगाडि थप्छन्, “म फर्केको छु । र, म त्यही प्रेम चाहन्छु, जुन मैले सात वर्षअघि पाएको थिएँ ।” बीबीसी हिन्दीबाट ।