
काठमाडौं । लुम्बिनी प्रदेशमा जारी एकदिवसीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी र कर्णाली प्रदेशले जित निकालेका छन् । सशस्त्र प्रहरीले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गरेको छ भने कर्णालीले मधेस प्रदेशलाई ८१ रनको अन्तरले पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा १९२ रनको लक्ष्यसहित मैदान छिरेको सशस्त्र प्रहरी ३६.३ ओभरमा सात विकेट गुमाउँदै उक्त लक्ष्य हासिल गरेको थियो । सशस्त्रका लागि सन्दीप जोराले ५१ रन, आसिफ शेखले ३२ र लोकेश बमले १९ रन बनाए । बलिङमा सुदूरपश्चिमका शेर मल्ल, विकास अग्री र नारायण जोशीले समान दुई–दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले अर्धशतकीय पारी खेल्दै ५७ रन बनाए । यस्तै, प्रकाश पाण्डेले ४२ रन र किरण ठगुन्नाले १२ रन बनाए ।
बलिङमा सशस्त्र प्रहरीका रोहित पौडेल र अमर रौटेलाले समान तीन–तीन विकेट लिँदा भुवन कार्कीले दुई विकेट र अभिषेक गौतमले एक विकेट लिए । यससँगै सशस्त्र प्रहरी ६ खेलमा चारमा जित, दुईमा हारसहित आठ अंक लिएर प्रतियोगिताको तेस्रो स्थानमा उक्लेको छ भने सात खेल खेलेको सुदूरपश्चिम दुईवटा मात्र खेल जितेर चार अंकका साथ सातौँ स्थानमा झरेको छ ।
शुक्रबार नै सम्पन्न अर्को खेलमा कर्णालीले मधेस प्रदेशलाई ८१ रनले पराजित गरेको छ । रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा २२१ रन पछ्याएको मधेस प्रदेश ३५.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १३९ रनमा सीमित भएको थियो । मधेसका लागि रुपेश सिंहले ३०, विशाल पटेलले २५, हरिशंकर साहले १८ र शैलेन्द्र साहले १० रन बनाएका थिए ।
बलिङमा कर्णाली प्रदेशका दिनेश अधिकारीले चार र दिपेन्द्र रावतले तीन विकेट लिए भने प्रकाश जैसीले दुई र सुनिल धमलाले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै कर्णालीले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो । कर्णालीका लागि दिपेन्द्र रावतले ६१ रन बनाए । यसैगरी अर्जुन घर्तीले २६, दिनेश अधिकारीले २४, प्रकाश जैसीले २० रन बनाए ।
बलिङमा मधेस प्रदेशका रुपेश सिंह, रञ्जित कुमार, हरिशंकर साह, कमल गुप्ता र अनिल साहले समान दुई–दुई विकेट लिए । सात खेल खेलेको कर्णाली चार जितसहित आठ अंक जोडेको छ भने ६ खेल खेलेको मधेसले दुई खेलमा मात्र जित निकाल्दै चार अंक प्राप्त गरेको छ ।