
विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले गणतन्त्रभन्दा अझ उन्नत व्यवस्था जनताको चाहना भएको बताएका छन् ।
बिहीबार विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरसंवाद कार्यक्रममा विप्लवले गणतन्त्रमा आएर पनि जनताका निराशा कायम रहेको बताए । उनले भने,“एउटा सामन्तवादी युगको अन्त्य भयो । जनता सार्वभौम हुने क्रममा थिए । गणतन्त्र नआएको भए नेपाल अझै सय वर्ष सामन्तवादमै हुने थियो ।”
समाज विकासको चरित्र हेर्दा जति हुनुपर्ने थियो हुन नसक्दा केही असन्तुष्टि उजागर भएको उनले बताए । उनले सम्पत्ति माथिको अधिकार अझै जनतामा नआएकाले नेपाली राजनीति जानेर वा नजानेर चरम अन्तरविरोधमा रहेको बताए ।
“सामन्तवादी व्यवस्था अन्त्य भए पनि पुँजी दलाल पुँजीपतिको नियन्त्रणमा हुँदा जनताले राहत पाएका छैनन्,” उनले भने, “युवा पलायन त्यसको परिणाम हो । राज्यले नै विदेश जान प्रेरित गरिरहेको छ ।”
अर्थतन्त्रमा समस्या भएको भन्दै उनले संविधानमा अझै समानुपातिक प्रतिनिधित्वको अभाव रहेको बताए । अल्पसंख्यक, दलित, पीडितको प्रतिनिधित्व अझै हुन नसकेको र समस्या भयो भन्ने आममानिसको धारणा रहेको बताए ।
सरकार अस्थिर हुँदा सबै क्षेत्रहरू प्रभावित हुने गरेको र यो व्यवस्था नचलेको विश्लेषण हुने गरेको बताउँदै भने, “आलोचनात्मक राजनीति हावी छ । राजाको मठमन्दिर घुमाइ पनि सांस्कृतिक प्रभावका लागि हो । तर, नेपालमा पश्चगमन दुर्घटनामात्र हुनेछ ।”
जनताले समाजवाद खोजेको बताउँदै विप्लवले समाजवादी अर्थव्यवस्थाको अहिलेको आवश्यकता भएको सुनाए । “निकास जनताले जे चाहन्छन् त्यही हुने हो, नेपालमा पश्चगमन दुर्घटनामात्र हुनेछ,” उनले भने,“गणतन्त्रप्रति अधिकांश दल सकारात्मक छन् । यसको रक्षाका लागि सबै कम्तीमा एक ठाँउमा देखिन्छन् ।”
माओवादीले आफूलाई जति रूपान्तरण गर्छ उति नै जनतालाई सुविधा हुने उनले दाबी गरे । नेपाली विशेषतायुक्त समाजवादी गणतन्त्र आवश्यक रहेको सुनाउँदै विप्लवले माओवादीकै कमजोरीबारे समेत विश्लेषण आवश्यक रहेको बताए ।