
काठमाडौं । एबीपी इनर्जी र सिद्धार्थ बैंक लिमिटेडबीच आठ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत् परियोजना निर्माणका लागि कर्जा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका तर्फबाट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
आयोजनाको कुल अनुमानित लागत एक अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कुल लागतको ७५ प्रतिशतले हुने एक अर्ब २३ करोड रुपैयाँ दीर्घकालीन ऋणबाट व्यवस्थापन गर्नका लागि सिद्धार्थ बैंकसँग सम्झौता भएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । बाँकी २५ प्रतिशत रकम भने स्वपुँजीबाट व्यवस्थापन गरिने छ ।
कम्पनीको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडा, सूचना प्रविधि क्षेत्रका हस्ती असगर अलीलगायत रहेका छन् ।
श्रेष्ठ नुवाकोटमा सञ्चालनमा रहेको बुद्धभूमि हाइड्रोपावर लिमिटेडका अध्यक्ष हुन् भने एटलस इनर्जी र ह्याप्पी इनर्जीमा पनि आवद्ध छन् । त्यस्तै, खतिवडा पनि एबीपी इनर्जीका साथै सञ्चालनमा आइसकेको बुद्धभूमि हाइड्रोपवार, बराह मल्टीपावर, एटलस इनर्जी लगायतका कम्पनीका अध्यक्ष तथा निर्देशक छन् । असगर अलि भने प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार हुन् ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवस्थित तादी घ्याङफेदी जलविद्युत् आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति ०८४ वैशाख ३१ तय गरिएको छ ।
आयोजना सञ्चालनमा आइसकेपछि हाइड्रो टुरिजमबाट समेत आयोजनाले आम्दानी गर्ने लक्ष्य लिएको इप्पानका महासचिव तथा आयोजनाका निर्देशक बलराम खतिवडाले बताए ।
गोसाइँकुण्ड जाने ट्रेकिङ रुटमा आयोजना निर्माण हुने हुँदा आयोजनाले बनाएका क्याम्प हाउस होमस्टेमा परिणत गरी पर्यटकलाई हस्पिटालिटी सुविधा दिन सकिने खतिवडाको भनाइ छ ।
यस आयोजनाका लागि २०७८ असार ३१ मा विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त भएको थियो । २०७८ भदौ २७ मा विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो ।
३९ सय मिटर पाइपलाइन रहेको आयोजनाको ४४६ मिटर हेड रहेको छ । डिजाइन डिस्चार्ज २.२ क्यूसेक रहेको छ । वार्षिक चार करोड ८७ लाख युनिट विद्युत् उत्पादन गर्ने आयोजनाले वार्षिक २९ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ । आयोजनाबाट सुक्खायाममा १५.९७ गिगावाट आवर र वर्षामा ३२.७७ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।