गाजा । इजरायली सेनाले बुधबार गाजा सहरको साब्रा नजिकैको एउटा घरमा गरेको बमबारीमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका प्यालेस्टाइनी स्रोतले जानकारी दिएको छ ।
पीडितहरूमा महिला र बालबालिका पनि रहेको चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए । प्रत्यक्षदर्शीहरूले मृतक र घाइतेहरूलाई अस्पताल लगिएको बताएका छन् । सुरक्षा स्रोतहरूले इजरायली युद्धक विमानहरूले घरलाई निशाना बनाएको बताएका छन् ।
यसअघि बुधबार, इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले रातभर उत्तरी गाजामा हमासको सैन्य साइटमा आक्रमण गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा प्रसारित फुटेजमा परिवारहरू फोहोरले भरिएका सडकहरूमा हिँडिरहेका, केहीले गद्दा र घरायसी सामानहरूले भरिएका गाडाहरू धकेलिरहेका तथा अरूले आफ्ना डराएका बच्चाहरूको हात समातिरहेका देखिएका छन् ।
विज्ञप्तिमा बासिन्दाहरूलाई सुरक्षाको लागि पश्चिमी गाजा शहर र खान युनिसका ज्ञात आश्रयस्थलहरूमा तुरुन्तै स्थानान्तरण गर्न आह्वान गरिएको छ ।
इजरायली सेनाले मंगलबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रहरूमा तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र दुई महिनाको युद्धविराम भंग भएको छ । रासस/सिन्ह्वा