
दाङ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशसँग त्रिभुवन आर्मी क्लब तीन विकेटले पराजित भएको छ । मधेसको भने यो पाँचाैँ खेलमा दोस्रो जित हो ।
लमहीको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेसले सात विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो ।
मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशंकर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रूपेश सिंह ३८ रनमा नटआउट रहे ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियो ।
आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए ।
मधेसका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरु भएको प्रतियोगिताका खेलहरू राउन्ड रोविनका आधारमा भइरहेका छन् ।
आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका छ ।रासस