
काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार प्रतिनिधिसभामा विशेष समय माग्नेका निम्ति दुई मिनेटको समय छुट्याएको सूचना दिए ।
त्यसमा सबैभन्दा पहिलो समय लिने व्यक्ति थिए, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे । उनले पाएको दुई मिनेट समयमा मुस्किलले ३० सेकेन्ड मात्र लिए । ‘त्यो समय’, उनले आफूले पहिला बोलेका विषयमा क्षमा माग्न प्रयोग गरे ।
“यही चैत ३ गते विशेष समयमा मैले व्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हो । यो धारणा कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन,” घिमिरेले भने, “यी धारणाहरूले सम्मानित संसद्का सदस्यहरू एवम् अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहान्छु ।”
खासमा घिमिरेले यसरी माफी माग्नुको कारण थियो, ‘मनोरन्जन निम्ति पर्यटक भित्र्याउन यौन व्यवसायलाई वैधानिकता दिनुपर्छ ।’
उनले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक सकारात्मक भएको टिप्पणी गर्दै सम्भावनाको क्षेत्रका रुपमा यौन व्यवसायलाई वैधानिकता दिइनुपर्ने सुझाव राखेका थिए ।
“मैले त बारम्बार भन्ने गरेको छु यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौं । जसले यो मुलुकमा पर्यटकको संख्या बढाउने छ,” घिमिरेले भनेका थिए, “धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्, एडभेन्चरको पर्यटकहरू थोरै हुन्छ । संसारमै सबभन्दा बढ्ता पर्यटक हुने भनेको मनोरञ्जनको हो । त्यसलाई आकर्षित गर्न सकियो भने यो मुलुकको आर्थिक विकास हुन्छ ।”
त्यसरी बोलेपछि कांग्रेसकै महिला सांसदहरूको आक्रोशमा परे, घिमिरे । संसद् परिसरभित्रै संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भेला हुँदै सांसदहरूले घिमिरेसँग प्रश्न गरेका थिए, ‘संसद्मा यस्तो अभिव्यक्ति कसरी दिनुभयो ? पार्टीको प्रमुख सचेतकको भूमिका के हो ?’
कांग्रेसकी सांसद अम्बिका बस्नेतसहितले प्रमुख सचेतकसँग प्रश्न गरेका थिए, ‘त्यसरी बोल्दा पार्टीको छविमा कस्तो असर पर्छ ? सामाजिक राजनीतिक प्रभाव कस्तो होला ?’
सांसदहरूको प्रश्नसँगै घिमिरेले रातो मुख लगाए ।
“एकसाथ प्रश्न सुनेपछि उहाँ केही बोल्न सक्नुभएन, रातो मुख लगाएर बसिरहनुभयो । अन्त्यमा यो मेरो व्यक्तिगत धारणा हो, यो पार्टीगत धारणा होइन र मलाई ठिक लागेको कुरा बोलेको हुँ भनी त्यहाँबाट बाहिरिनुभयो,” ती सांसदले बाह्रखरीसँग भनिन्, “त्यसपछि उहाँ पदीय हिसाबले प्रमुख सचेतक । तर, आफैँ फेस गर्न नसक्ने अवस्थामा पुग्नुभयो ।”
घिमिरेको अभिव्यक्ति विवाद यतिमै रोकिएन । चैत ४ गतेको बैठकमा घिमिरे संसद् प्रवेश गरेपछि गृहमन्त्री रमेश लेखक र पार्टी उपसभापति पूर्णबहादुर खड्कासँगै राखी कांग्रेसका महिला सांसदहरूले सम्झाउने प्रयास गरे ।
त्यस्तो प्रयासमा घिमिरेले आफ्नो धारणा व्यक्तिगत भएकाले आफूलाई आफ्नो धारणामा रहन दिन आग्रह गरेपछि सांसदहरू झन् आक्रोशित हुन पुगे ।
“त्यसो भए, तपाईं आफ्नै घरबाट व्यवसाय किन सुरु गर्नु हुन्न ? तपाईं आफ्नै श्रीमती, छोरी बुहारीबाट किन व्यवसाय सुरु गरेर उदाहरण बन्न सक्नुहुन्न ? उदाहरण बन्नुस्,” कांग्रेस सांसद कुसुम थापाले औला ठड्याउँदै भनिन्, “तपाईं आफ्नो हकमा सक्नु हुन्न भने अरुका हकमा कसरी कानुन बनाउन सक्नुहुन्छ ?”
त्यसपछि कांग्रेसका अन्य सांसदहरूले पनि पार्टीका सार्वजनिक छवि धुमिल पार्न घिमिरेले नपाउने बताएका थिए ।
तर, घिमिरे जवाफ दिँदै थिए, ‘हाम्रो देशमा यौन पेशा चलिरहेको छ । त्यसलाई वैधानिक दायरामा ल्याउने विषय मात्र आफू राखेको हुँ ।’
प्रमुख सचेतकले राखेको धारणा चित्त नबुझेपछि सांसदहरूले संसदीय दलका नेतासँगै बसेर छलफल गर्नुपर्ने निचोड निकाले । कांग्रेस सभापति शेरबहादुर देउवाले चैत ५ गतेका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका थिए ।
सांसदहरू सीता गुरुङ, ईश्वरी न्यौपाने फरक सन्दर्भ पारेर पुगेका थिए । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा निजामती विधेयकसम्बन्धी ब्रिफिङ गर्न पुगेका थिए । सँगै गुरुङ, न्यौपाने गएका थिए । गुरुङ र न्यौपानेको उद्देश्य चाहिँ प्रमुख सचेतकले बोलेका विषय सुनाउनुथियो ।
पदाधिकारी र पूर्वपदाधिकारीको छलफल सकिएपछि बैठकस्थलमै उनीहरूले घिमिरेका कारण महिला सांसदहरूलाई असहज अवस्था बनेको र प्रमुख सचेतकको भूमिकामै प्रश्न उठाए ।
उपसभापति पूर्णबहादुर खड्का मानिसबाट गल्ती हुन्छ र संसद्मै माफी माग्न लगाउने आश्वासन दिए । खड्काले घिमिरेको अभिव्यक्ति संसद्को रेकर्डबाट पनि हटाउन लगाउने आश्वासन दिएका थिए । बुधबारको बैठकमा माफी मागेपछि घिमिरेले आफ्नो भनाई रेकर्डबाट हटाइदिन आग्रह गरेनन् र सभामुखले पनि रेकर्डबाट हटाउन ‘रुलिङ’ गरेका छैनन् ।
कांग्रेसका महिला सांसदहरू भने पार्टीलाई प्रतिनिधित्व गरी बोल्न नसक्ने र आफ्नो व्यक्तिगत धारणाबाट पार्टीलाई बदनाम गर्ने व्यक्तिलाई प्रमुख सचेतक राख्नु अनुचित हुने बुझाइमा छन् ।
“उहाँको अभिव्यक्तिले त हाम्रो पार्टीका महिला सांसदहरू लञ्जित हुनुहुन्छ,,” एक नेताले भने, “उहाँ प्रमुख सचेतक भएर अन्य दलसँग कसरी समन्वय गर्न सक्नुहुन्छ ? अब उहाँको स्वीकार्यता कसरी स्थापित हुन्छ ?”