site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
२५ करोड बरामदबारे संसद्‌मा आवाज– ड्राइभर र भरियामात्रै होइन, नाइकेसम्म पनि सरकार पुगोस्

काठमाडौं । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा पक्राउ परेको विषय सदनमा उठेको छ । मंगलबारर पक्राउ परेका उनी पाँच वर्षअघि काठमाडौंमा सुन बोक्ने भरियाका रूपमा काम गर्ने गरेको खुलेको छ ।

सुन तत्करी प्रकरणमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति भएको समेत प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।

सांसदहरूले सुन तस्करीजस्ता घटनामा ड्राइभर र भरियालाई समाउने र मुख्य व्यक्तिसम्म नपुग्ने गरिएको भन्दै आपत्ति जनाएका छन् । त्यस्तो प्रवृति नदोहोर्‍याउन नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आग्रह गरे । 

Argakhachi Cement Island Ad

“कहिले १८, ३३ किलो सुनका नाममा यसैगरी विभिन्न ड्राइभर र भरियालाई पक्रने र मालिकसम्म नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो । अहिले पनि सरकार भरिया र ड्राइभरलाई समातेर मेन नाइकेलाई समात्न सफल भएन भने फेरि आँखामा छारो हालेजस्तो देखिन पुग्छ,” खतिवडाले भने, “सरकार नाइकेसम्म पुगोस्, जुन तहको भए पनि कारबाहीको दायरामा ल्याओस् ।”

त्यस्तै, एमाले सांसद रघुजी पन्तले पनि सुन तस्करीको घटनामा पञ्चायतकालदेखि मुख्य व्यक्ति पक्राउ नपरेको बताए ।

“सुन तस्करी पञ्चायत राजाको कालदेखि अहिलेसम्म जस्ताको जस्तै जारी छ । तर, पर्दा पछाडिका मानिस को हुन् भन्ने कुरा न ऊ बेलामा पक्रन सकियो । न यो बेलामा पक्रन सकिएको छ,” उनले भने ।

उनले किन सुन तस्करी भइरहेको भनेर हेर्नुपर्ने बताए । “शान्ति सुरक्षाको दृष्टिकोणले मात्र नहेरेर सुन तस्करी हुनुको मुख्य आर्थिक कारण के हो ? किन मान्छेले सुन तस्करी निर्वाध गर्न चाहन्छ ? हामीलाई आवश्यक सुन वैध रूपबाट ल्याउन नसकिएको हो भने खुला गर्नुपर्‍यो,” उनले भने, “होइन भने यसलाई सम्बोधन गर्न सक्ने विषय सरकारले गर्नुपर्‍यो ।”

नेकपा (माओवादी केन्द्र)ले पनि रकम बरामद भएको घटनाको छानबिनका लागि विशेष समिति बनाउन माग गरेको छ । माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन् । 

“यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यो घटनामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,” उनले भने ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्