काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघका नेताहरूले क्याम्पस गेटमै अनशन सुरु गरेका छन् । नेपाल विद्यार्थी संघ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लूआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृषजंग कार्की र राजीव अधिकारीले सोमबार बेलुकीबाट अनशन सुरु गरेका छन् ।
नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधिकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो । निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए ।
तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनशन सुरु गरिएको अनशनरत कार्कीले बताए । दर्ता गरेको नाम कायम नभएसम्म स्ववियु निर्वाचन हुननसक्ने उनीहरूको अडान छ ।