
काठमाडौं । उत्तर म्यासेडोनियामा एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । अन्य १०० जना घाइते भएको बीबीसीले जनाएको छ ।
राजधानी स्कोप्जेबाट झन्डै १०० किलोमिटर उत्तरतर्फ पर्ने कोकानी सहरको पल्स क्लबमा आगलागी भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक फुटेजहरूमा पूरै भवन नै आगोले लपेटिएको देखिन्छ ।
स्थानीय समयअनुसार, आइतबार बिहान ३ बजेतिर आगलागी भएको हो । त्यतिबेला देशकै चर्चित हिपहप ब्यान्ड एडीएनले प्रस्तुति दिइरहेको थियो ।
कन्सर्टमा झन्डै एकहजार ५०० जनाले सहभागिता जनाइरहेका थिए ।
स्थानीय सञ्चारमाध्यमले कन्सर्टबाटै आगो सुरु भएको जनाएका छन् । कलाकारले प्रस्तुति दिइरहेका बेला प्रदर्शन गरिएको अतिसबाजीबाट आगो सुरु भएको स्थानीय सञ्चारमाध्यमको हवाला दिएर बीबीसीले जनाएको छ ।
बीबीसीबाट ।