
काठमाडौं । गाजापट्टीमा पाँचमध्ये एक व्यक्ति भोकमरीका कारण मर्ने अवस्था रहेको पाइएको छ । इजरायलले गाजामा महत्त्वपूर्ण मानवीय सहयोग रोकेको तीन महिनापछि संयुक्त राष्ट्रसंघले समर्थन गरेको एक नयाँ प्रतिवेदनले यस्तो चेतावनी दिएको हो ।
इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन (आईपीसी)ले सोमबार प्रकाशन गरेको नयाँ प्रतिवेदनमा गाजाको सबै जनसंख्या तीव्र खाद्य असुरक्षाको उच्चस्तर भोगिरहेको उल्लेख छ । प्रतिवेदनले गाजा क्षेत्र गम्भीर भोकमरीको उच्च जोखिममा रहेको बताएको छ ।
आईपीसीले भनेको छ, “मानिसहरूको बाँच्न आवश्यक सामान नष्ट भइसकेका छन् । अलिकति रहेको पनि आउने हप्ताहरूमा सकिने देखिन्छ । खाद्यान्न सकिँदै छ । र, थोरै बाँकी छ, त्यो पनि धेरै महँगो दाममा बिक्री हुँदै छ । जुन अधिकांशले खरिद गर्न सक्दैनन् ।”
इजरायले मार्च २ मा गाजामा मानवीय सहायता सहयोग जान नदिपछि गाजामा रहेका २० लाखभन्दा बढी प्यालिस्टनी संकटमा छन् । इजरायलले खाद्यान्न, चिकित्सा सामग्री र अन्य सहयोग पठाउन दिएको छैन ।
सीएनएनबाट ।