site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रीमान्–श्रीमती एकैपटक उपसचिव

काठमाडौं । लोकसेवा आयोगले लिएको उपसचिवको परीक्षामा रौतहटका राजन थापा र उनकी श्रीमती दुर्गाकुमारी दाहाल सफल भएका छन् । लोकसेवा आयोगले प्रकाशन गरेको अन्तिम नजिताअनुसार, थापाले १२औँ र दाहालले २०औँ नम्बरमा नाम निकालेका हुन् । २३ जना आवश्यक दरबन्दी रहेकोमा परीक्षामा सहभागीमध्ये ३१ जना अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

अन्तर्वार्तामा छनोट भएकामध्ये राजन र उनकी श्रीमती दुुर्गाकुमारी उपसचिव भए । थापाले २०६९ सालमा नायब सुब्बा (नासु)बाट आफ्नो निजामती सेवा प्रारम्भ गरेका थिए । उनले नासुको रूपमा सुन्धारास्थित हुलाक कार्यालयमा काम गरे । उनले २०७३ सालमा शाखा अधिकृतमा नाम निकालेका थिए । 

अधिकृत भएपछि मनाङ, ललितपुर र सिन्धुली जिल्ला प्रशासन कार्यालयमा काम गरे । त्यसपछि सामान्य प्रसाशन मन्त्रालयमा पनि काम गरे । हाल उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत थिए । उनको स्थायी ठेगाना रौतहट भए पनि हाल मकवानपुरमा बसोबास छ ।

त्यस्तै, उनकी श्रीमतीले २०७१ मा भक्तपुर जिल्ला अदालतबाट निजामती प्रवेश गरेकी हुन् । उनले पनि नासुबाट नै आफ्नो निजामती सेवा प्रारम्भ गरेकी थिइन् ।

२०७३ सालमा उनले शाखा अधिकृतमा नाम निकालेकी थिइन् । उनले अधिकृतको रूपमा रामेछाप जिल्ला प्रशासन कार्यालयमा काम गरिन् । त्यसपछि कृषि, गृह, सामान्य प्रशासन मन्त्रालयमा काम गरिन् । हाल उनी युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत छन् ।

अन्तर्वार्ता वैशाख २१ देखि २४ गतेसम्म भएको थियो । नतिजा प्रकाशन मंगलबार भएको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्