site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिरियाका राष्ट्रपतिलाई भेट्दै सम्बन्ध सुधार गर्ने विषयमा ट्रम्पले गरे छलफल

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साउदी अरेबियामा सिरियाली राष्ट्रपति अहमद अल–शरासँग भेटवार्ता गरेका छन् । यसअघि अमेरिकाले सिरियाको इस्लामिक सरकारमाथि लगाएका सबै प्रतिबन्ध हटाउने आश्चर्यजनक घोषणा गरेको थियो ।

ट्रम्पले अमेरिका र अरब देशहरूबीचको शिखर सम्मेलनमा यो टिप्पणी गरेका हुन् । शिखर सम्मेलनभन्दा पहिले उनले सिरियाली राष्ट्रपति शरासँग भेट गरे । साउदीको सरकारी टेलिभिजनले प्रसारण गरेका तस्बिरहरूमा साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको उपस्थितिमा दुवै  नेताहरूले हात मिलाउँदै गरेको देखिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसका प्रवक्ताले बताएअनुसार, भेटमा ट्रम्पले शरालाई इजरायलसँग सम्बन्ध सामान्य बनाउन पनि आग्रह गरेका छन् ।

सिरियाली नेताहरूको अल–कायदासँग पुरानो सम्बन्धबारे आफ्नो प्रशासनभित्र चिन्ता भएता पनि ट्रम्पले मंगलबार रियादमा दिएको भाषणमा सिरियामाथि लगाएका प्रतिबन्ध हटाउने प्रमुख नीतिगत परिवर्तनको घोषणा गरेका थिए ।

टर्कीको अनादोलु समाचार संस्थाका अनुसार, उक्त भेटमा टर्कीका राष्ट्रपति रिसप तयिप्प एर्दोगनले पनि भर्चुअल माध्यममार्फत सहभागिता जनाएका थिए ।

साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले शिखर सम्मेलनमा सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको निर्णयलाई साउदी अरबले सरहना गरेको बताए ।

सिरियाको शरा प्रशासनप्रति इजरायलको गहिरो शंका र केही अमेरिकी अधिकारीहरूको चिन्ता हुँदाहुँदै पनि यी प्रतिबन्ध हटाइएको बताइएको छ । इजरायली अधिकारीहरूले शरालाई २०१६ मा अल–कायदासँग सम्बन्ध विच्छेद गरे पनि अझै जिहादी भनेर चिनाउँदै आएका छन् । यस सम्बन्धमा इजरायल सरकारले तत्काल प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्