
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले समाज र जीवनमा परिवर्तन ल्याउन आफूहरूलाई जनप्रतिनिधि बनाएर पठाएको बताएका छन् । मंगलबार कोसी प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले जनताको समस्या समाधानका लागि संघीय सरकार प्रदेशको साथैमा रहेको पनि बताए ।
“संघीय सरकार प्रदेश सरकारको साथमा छ । विकासलाई गति दिन आफ्नो जिम्मेवारीबोध गरेर अघि बढौँ,” उनले भने । ओलीले कृषि, पर्यटन, उद्यमशीलता बढाउन जनप्रनिधि बढी जिम्मेवार बन्नुपर्ने सुझाव दिए ।
कृषिको यान्त्रीकरणमा जोड दिएका उनले नगदेबाली प्रवर्द्धनमा काम गर्न जनप्रतिनिधिले पुलको काम गनुपर्ने बताए । “विकासका कामलाई हरेकले अघि बढाउन सक्छ । हामी भावनामा बगेर होइन यर्थाथमा अभिभारा के हुन् त्यो बुझेर अघि बढ्नुपर्छ,” उनले भने । ओलीले कुरामाथि पर्ने गरेको तर देश गरिब भइरहने परिस्थिति रहेकोले अब व्यवहारिक र देश बनाउने कुरा गर्नुपर्ने बताए ।
जनताको आम्दानी बढाउने गरी काम गर्न भन्दै जनतालाई बचतको अवस्थामा जानसके देश धनी हुन समय नलाग्ने बताए । “हामी शिक्षक पनि हौँ, हामी आफूलाई कहिले कहिले नेता ठान्ने, कहिले कहिले शो गर्ने प्रवृत्ति देखिन्छ, मिडियाको खपतको लागि बोल्न जरुरी छैन,” उनले भने, “जनताको खपतका लागि बोलौँ । ३१५ आधारभूत अस्पताल शिलान्यास गरेको थिएँ । कति बन्दैछन् । कति निर्माणाधीन छन् । कतिपय मानिसले मलाई भने पालिका पालिकामा किन अस्पताल चाहियो भने । एउटा पालिका भनेको धेरै गाविसहरू हुन् ।”