site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केयूकेएल र सडक विभागको टकरावले मर्मत भएन थापाथली सडक

काठमाडौं । काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पताल जानेतर्फको सहायक सडक एक सातासम्म पनि मर्मत भएको छैन । सडक  विभाग र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को टकरावले सडक पिच नभएको हो । 

गत फागुन २० गते मंगबार बिहान करिब ५ः२० बजे मेलम्चीको थोक वितरणतर्फको पाइप फुटेर सडक जलमग्न भएको थियो । त्यसपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को टोलीले सडक खनेर पाइप मर्मत गरेको थियो । 

केयूकेएलले खनेको सडक समयमै पिच नहुँदा सो क्षेत्रको सवारी आवागमन असहज भएको छ । पाइप फुटेको करिब ४० मिनेटपछि मात्रै पानी बन्द गर्दा करिब पाँच लाख लिटर पानी खेर गएको थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले सडक मर्मत गर्न अझै ३–४ दिन लाग्ने बताए । 

“पहिले खनिएको खाल्डोबाट अझै पनि पानी आएको भन्ने छ । पछि फेरि पानी बाहिर निस्किन नदिने गरी मर्मत गर्नुपर्‍यो । त्यसैले अझै समय लाग्ला,” वडाध्यक्ष तण्डुकारले भने । वडाध्यक्ष तण्डुकारले सडक पिच गर्नका निम्ति गएराति गिट्टी ल्याएर राखिएको पनि बताए ।  

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले नेपाल विद्युत् प्राधिकरणको तार भूमिगत गर्ने क्रममा पाइपमा चोट लाग्दा खानेपानीको पाइप फुटेकोे निष्कर्ष निकालेको थियो । केयूकेएलले पाइप त्यतिबेलै मर्मत हुने बताएको थियो । 

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले सडक विभागसँग समन्वय भइरहेको बताए । “सडक विभागसँग समन्वय गरिरहेका छाैँ । अहिलेसम्म विभागले केही भनेको छैन । अबको केही दिनमा सडक पिच होला,” उनले भने । 

सडक विभागले भने आफ्नो मातहतमा सो सडक नपर्ने जनाएको छ । विभागका प्रवक्ता तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले आफ्नो मातहतमा नपर्ने बताए । “बबरमहलको सडक हाम्रो मातहत पर्‍थ्यो । हामीले बनायौँ । तर, थापाथलीको सडक पर्दैन । त्यसैले विभागले बनाउँदैन,” उनले भने । 

काठमाडौं उपत्यकामा समन्वयकारी भूमिकामा रहेका निकायहरू (विद्युत् प्राधिकरण, सडक विभाग, केयूकेएल र काठमाडौं महानगरपालिका)ले एकआपसमा समन्वय नगर्दा एउटाले बिगार्ने अर्कोले बनाउने क्रम चलिरहन्छ । 

गत माघ ३० गते बुधबार बबरमहलमा विद्युत् प्राधिकरणले खानेपानीको पाइप फुटाउँदा सडक, आसपासका सरकारी कार्यालय र निजी घरहरू डुबानमा परेका थिए ।   

त्यसबेला पनि केयूकेएलले विद्युत्को तार भूमिगत गर्ने क्रममा खानेपानीको पाइपमा क्षति पुग्दा पाइप फुटेको भन्दै प्राबिधरणलाई दोषारोपण गरेको थियो । सो सडक विभागले नै मर्मत गरेको थियो । 

केयूकेएलले सडक विभागसँग समन्वय गरेर थापाथली सडक पिच गर्ने दाबी गरेको छ । केयूकेएलका प्रवक्ता राईले सडक विभागले नै बनाउने बताए । “सडक विभागलाई पत्र पठाएका छौँ । विभागले नै थापाथली सडक बनाउँछ,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro