
काठमाडौं । एट्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डियागो सिमोनले गेटाफेसँग पराजयपछि खराब प्रदर्शन भन्दै टिमको खेलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गएको शनिबार स्पेनिस ला लिगाअन्तर्गत गेटाफेसँग उसैको मैदानमा २–१ ले पराजित भएपछि सिमोनले असन्तोष व्यक्त गरेका हुन् ।
खेलको ८८औँ मिनेटसम्म १–० को अग्रता बनाए पनि एट्लेटिकोले त्यसपछि दुई गोल व्यहोरेको थियो । “खेलले हामीलाई केही दिन सकेन । यो खेल हेर्नका निम्ति पनि खासै राम्रो थिएन । प्रदर्शन वास्तवमै खराब रह्यो,” सिमोनले भने, “रणनीतिक दृष्टिकोणबाट हेर्ने हो हरेक टिम आफूलाई आवश्यक कुरा गरिरहेका छन् । हामीले जुन कुरा प्राप्त गर्नका निम्ति खेलेका थियौँ, त्यो हुन सकेन । त्यहाँ पेनाल्टी भयो, त्यसपछि एन्जल कोरिया मैदानबाट बाहिरिए । यस्तो हुनु हुँदैन थियो ।”
गेटाफेसँगको उक्त हारपछि एट्लेटिकोले ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमायो । तालिकाको तेस्रो स्थानमा रहेको एट्लेटिकोको २७ खेलबाट ५६ अंक छ । त्यो शीर्ष स्थानको बार्सिलोनाको भन्दा एक अंक कम हो । १२औँ स्थानमा रहेको गेटाफेले २७ खेलबाट ३३ अंक जोडेको छ ।