
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेलमा लाओसविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।
नेपाली महिला टिमले पहिलोपटक सन् १९८६ मा हङकङविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पाइला राखेको थियो । त्यसको करिब ४० वर्षपछि १००औँ अन्तर्राष्ट्रिय खेलको कोसेढुंगा छुन लागेको हो ।
नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओससँग प्रतिस्पर्धा गर्दैै छ । उज्बेकिस्तानको तास्केन्तमा यो खेल नेपाली समयानुसार साँझ ६ः१५ बजे सुरु हुनेछ । केही साताअघि मात्र नेपाली टिमको जिम्मेवारीमा आएका प्रशिक्षक प्याट्रिक डी वाइल्डको यो ‘डेब्यु’ खेल समेत हो ।
प्रतियोगितामा नेपाली टिम समूह ‘एफ’मा छ । यो समूहमा नेपालसहित आयोजक उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । यो समूहको सबैभन्दा बलियो टिम उज्बेकिस्तान हो । नेपालले उज्बेकिस्तानलाई हालसम्म हराउन सकेको छैन । समूहको शीर्षमा रहने टिमले सन् २०२६ को एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।