
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५, की ७ वर्षीया नाबालिकाको हत्या प्रकरणमा प्रहरीले काकाविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । प्रहरीले मृतक नाबालिकाका मावलीपट्टिका काका पर्ने अनिष सरदारविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने तयारी गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, पीडितको किटानी जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको हो । प्रहरीका सोधपुछका क्रममा अनिषले घटना भएको दिन मदिरा सेवन गरेको स्वीकारेका छन् । तर, घटनामा संलग्नता स्वीकार गरेका छैनन् ।
विभिन्न मेडिकल रिपोर्ट र प्रमाणको आधारमा अनुसन्धानबाट वास्तविकता खुल्ने चुँडालको भनाइ छ । “काकाकै संलग्नता हो कि भन्ने आशंका छ । तर, त्यो प्रमाणसहित पुष्टि गर्नुपर्ने हुन्छ,” चुँडालले भनिन् ।
नाबालिकाको शवको पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाबारे थप खुल्ने प्रहरीको विश्वास छ ।
हजुरआमालाई जिम्मा लगाएर मृतक बालिकाका आमाबुवा आफन्तकहाँ गएको बेला बालिका हराएकी थिइन् । उनको शव शनिबार बिहान घरनजिकै फेला परेको थियो ।
घटनापछि मृतक बालिकाका आफन्त स्तब्ध बनेका छन् । पीडित परिवारकी आफन्त अमृताकुमारी चौधरीले गाउँभर त्रास फैलिएको बताइन् ।
“घटना अत्यन्त दर्दनाक छ । निष्पक्ष अनुसन्धान होस् र दोषीलाई कानुनी कारबाही होस् भन्ने हाम्रो चाहना हो,” उनले भनिन् ।
प्रहरीले प्राप्त प्रमाण, अनुसन्धानको निष्कर्ष र मेडिकल रिपोर्टको आधारमा अनिषविरुद्ध मुद्दा अगाडि बढाउने तयारी गरिरहेको छ ।