
काठमाडौं । एकै स्थानमा विभिन्न एड्भेन्चर गतिविधि सञ्चालन गरेर पर्वत–बाग्लुङ क्षेत्रलाई सहासिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सफल 'द क्लिफ' आन्तरिक तथा बाह्य पर्यटक मात्र नभई सेना तथा प्रहरीको तालिम केन्द्रसमेत बन्न सफल भएको छ ।
आइतबार नेपाल प्रहरीको प्रहरी विशेष कला तथा कारबाही (कमान्डो) तालिमअन्तर्गत दशौँ समूहमा तालिमरत प्रहरीहरूले कुश्मास्थित द क्लिफमा बन्जी जम्प गरेका छन् ।
तालिम संयोजक प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बन्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले जानकारी दिए ।
“भविष्यमा आइपर्ने जस्तोसुकै अवस्थाका लागि कमान्डोहरूलाई तयार गर्न साहसिक गतिविधिमा संलग्न गराइएको हो,’’ प्रहरी वरिष्ठ उपरीक्षक जबरा थप्छन्, “नेपालमा मात्र नभई विदेशमा समेत सेवा विस्तार गरिरहेको द क्लिफको प्रोफेसनल टिमका कारण केही वर्षदेखि निरन्तर द क्लिफसँग सहकार्य गर्दै आएका छौँ ।’’
तालिमअन्तर्गत १०६ जना प्रशिक्षार्थी प्रहरीले बन्जी जम्प गरेका छन् । नेपाल प्रहरीले तालिमरत प्रहरीहरूलाई विभिन्न साहसिक खेलहरूमा सहभागी गराउँदै आएको छ ।
तालिमअन्तर्गत नै सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीकै विभिन्न समूहले यसअघि फरकफरक समयमा द क्लिफमै बन्जी गरिसकेका छन् । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुसी भएको बताए ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रहेको रिसोर्टमा लग्जरी कटेज रुममा आवास सुविधा पनि छ । इन्फिनिटी स्विमिङ पुल र कन्फ्रेन्स हल निर्माणाधीन छन् ।