
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दशकौंदेखिको अमेरिकी विदेश नीतिविपरीत रुससँग नजिकिँदैछन् ।
युक्रेन–रुस युद्धका मुद्दामा ट्रम्प पुटिनको साथमा उभिएको देखिन्छ । उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसको कडा सर्तहरू स्वीकार गर्न दबाब दिइरहेका छन् । आक्रमणकारी देश रूस हो भन्ने सत्य जान्दा जान्दै ट्रम्प पुटिनलाई साथ दिइरहेका छन् ।
युक्रेन मामिलामा ट्रम्पले आफ्ना युरोपेली सहयोगीहरू समेत चिढ्याएका छन् । अमेरिकाले उनीहरूको रक्षा गर्न सहयोग गरिरहनेछ भन्ने ‘आशा नगर्न’ भनिसकेका छन् ।
ट्रम्पका क्रियाकलापले प्रश्न उब्जिएको छ, ‘के अमेरिकाले नयाँ रणनीतिमा काम गरिरहेको छ ? के यो रुसलाई चीनबाट टाढा राख्ने ठूलो योजनाको अंश हो ? अथवा ट्रम्पको व्यवहार उनको व्यक्तिगत प्राथमिकता र पुटिनसँगको निकटताको परिणाम मात्र हो ?’
ट्रम्प प्रशासनले कसरी रुसको पक्ष लिइरहेको छ ?
रुसको सन्दर्भमा सबैभन्दा ठूलो परिवर्तन फेब्रुअरी १२ मा देखियो, जब ट्रम्पले राष्ट्रपति पुटिनसँग ९० मिनेट फोनमा कुरा गरे । त्यसपछि उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति सम्झौतामा सहमत हुन दबाब दिए । कुनै सुरक्षा ग्यारेन्टीविना युक्रेनी भू–भाग रूसलाई हस्तान्तरण गर्न आह्वान गरे ।
राष्ट्रपति पुटिनसँगको आफ्नो फोन वार्ताबारे उनले भने, “हामी एक–अर्काको देशको भ्रमणसहित धेरै नजिक रहेर सँगै काम गर्न सहमत भयौं ।”
ट्रम्पले युद्धपछि युक्रेन नेटोको सदस्य बन्न नसक्ने बताए । यसअघिका अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटोको सदस्यता दिलाउने वाचा गरेका थिए, जसको रुसले यसको कडा विरोध गरेको थियो ।
पछिल्लो समय ट्रम्पले जेलेन्स्कीलाई ‘बेकार’ र ‘तानाशाह’ भनेका छन् । ह्वाइट हाउसमा दुईबीच भएका झगडा सारा संसारले देख्यो । ह्वाइट हाउसको बैठकमा ट्रम्पले ‘युक्रेनले युद्ध सुरु गर्नु हुँदैनथ्यो’ भनेका थिए । पुटिनले पनि एकपटक यस्तै टिप्पणी गरेका थिए ।
ट्रम्पले यो पनि भनेका छन् कि यदि युद्ध समाप्त भएपछि युक्रेनमा शान्ति सेना तैनाथ गरियो भने अमेरिकाले त्यसमा युरोपलाई सहयोग गर्ने छैन । युक्रेनमा पश्चिमी सेना तैनाथ गर्ने विचारलाई रुसले ठाडै अस्वीकार गर्दै आएको छ ।
युक्रेन युद्ध सुरु भएको तेस्रो वार्षिकोत्सवमा संयुक्त राष्ट्रसंघमा भएको मतदानमा अमेरिकाले रुसको पक्ष लिएको थियो । यसक्रममा अमेरिकाले रुसको निन्दा गर्न अस्वीकार गरेको थियो ।
के अमेरिकाले रुसलाई चीनबाट टाढा राख्न यसो गरिरहेको छ ?
युरोपेली सहयोगीहरूबाट टाढा हुँदै रुसतिर बढेका यी कदमहरूले ८० वर्षदेखिको विदेश नीतिबाट अमेरिका टाढिन खोजेको देखाउँछ । यद्यपि यो नयाँ विदेश नीति रणनीति हो कि होइन भन्ने कुरा अझै स्पष्ट छैन ।
फेब्रुअरी २५ मा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कन्जरभेटिभ समाचार वेबसाइट ब्रेटबार्टलाई बताए अनुसार, राष्ट्रपति ट्रम्प र उनको प्रशासनले रूस र चीनबीचको सम्बन्ध कमजोर बनाउन खोजिरहेका छन् ।
उनले भनेका छन्, “मलाई लाग्छ, रुसी जनता सधैँभरि चीनको कनिष्ठ साझेदार बन्न चाहँदैनन् । यस्तो अवस्थामा उनीहरूले चीनले जे भन्छ त्यही गर्नुपर्नेछ । मलाई लाग्दैन कि यो रुसका लागि राम्रो हो । यो अमेरिका, युरोप वा विश्वका लागि पनि राम्रो कुरा होइन ।”
रुस र चीनबीचको घनिष्टता अमेरिकाका लागि खतरनाक हुने बताउँदै उनले भने, “तपाईं अमेरिकाविरुद्ध एकताबद्ध दुई आणविक महाशक्तिहरूबारे कुरा गर्दै हुनुहुन्छ ।”
चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत विश्वव्यापी व्यापार सञ्जाल बनाइरहेको तर्क रुबियोको छ । बीआरआईलाई अमेरिकाले चुनौती दिने पनि उनले बताए ।
रुबियोको टिप्पणीप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्, “चीन र रुसबीच फाटो ल्याउने अमेरिकाको प्रयास असफल हुने निश्चित छ । चीन र रुससँग विकासका लागि दीर्घकालीन रणनीति छ ।”
रुबियोले जुन रणनीतिबारे कुरा गरिरहेका छन्, त्यो रणनीति सोभियतकालमा पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले पनि अपनाएका थिए । उनको प्रयास चीन र सोभियत संघबीच सम्बन्ध अलग गर्ने पनि थियो ।
निक्सनले रुसलाई एक्ल्याउन चीनसँग सम्बन्ध स्थापित गरेका थिए । ट्रम्प रुससँग घनिष्ठ सम्बन्ध बनाएर चीनलाई अलग्याउन चाहन्छन् । टिप्पणीकारहरू यसलाई ‘रिभर्स निक्सन’ वा ‘रिभर्स किसिङ्गर’ योजना भन्न रुचाउँछन् ।
आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको सल्लाहमा निक्सनले १९७२ मा चीनसँग एक सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौताले अमेरिकाविरुद्ध भइरहेका दुई कम्युनिस्ट देशहरूको संयुक्त आक्रमणको अन्त्य गरेको थियो ।
अमेरिकी थिंक ट्याङ्क काउन्सिल फर फरेन रिलेसन्स भन्छ, “रुबियोको योजनाले ह्वाइट हाउस र यहाँ रहेका चीनका कट्टर विरोधीहरूले चीनलाई विश्वबाट अलग्याउन र यसको बढ्दो विश्वव्यापी प्रभाव कम गर्न रूससँग मिलेर काम गर्न सकिन्छ भन्ने लाग्छ ।”
“रुस, चीनको कच्चा पदार्थका लागि उपनिवेश बनोस् भन्ने अमेरिका चाहँदैन । यसको अर्थ रुसले आफ्ना स्रोतहरू सस्तो मूल्यमा चीनलाई बेच्नेछ,” लन्डन स्कूल अफ इकोनोमिक्सका अतिथि प्राध्यापक क्लाउस विली भन्छन् । यसले चीनलाई अमेरिकाभन्दा अगाडि बढ्न सघाउने धारणा उनको छ ।
बेलायतस्थित इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजकी डा. डाना एलिन भने ट्रम्पले यो रणनीतिलाई पूर्ण रुपमा समर्थन गर्ने सम्भावना कम देख्छिन् ।
उनी भन्छिन्, “यो ट्रम्पको विचारभन्दा फरक छैन र उनलाई यो सम्भव लाग्न सक्छ । तर यो विचार मार्को रुबियो र विदेश नीतिमा रहेका अन्य परम्परागत रिपब्लिकन व्यक्तिहरूबाट आएको हो । तिनीहरू नीति बनाउने ह्वाइट हाउस टोलीमा छैनन् ।”
के ‘रिभर्स किसिन्जर’ रणनीतिले काम गर्नेछ ?
रुस र चीनलाई छुट्याउन अमेरिकाले कडा परिश्रम गर्नुपर्ने हुन सक्छ । सन् २०२२ मा युक्रेनमा आक्रमण हुनुभन्दा ठीकअघि दुई देशले ‘अन्तहीन’ मित्रताको घोषणा गरेका थिए । त्यसबेलादेखि दुई देशबीचको व्यापारिक सम्बन्ध मजबुत बन्दै गएको छ ।
चीन, रूसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो । चीनले सन् २०२४ मा ६२ अर्ब डलरको रूसी कच्चा तेल खरिद गरेको थियो । सन् २०२१ सम्म चीनले रुसबाट यसको एकतिहाई तेल मात्र किन्ने गथ्र्यो ।
युक्रेनमाथिको आक्रमणपछि पश्चिमी देशहरूले रुसी तेलमा प्रतिबन्ध लगाए, जसले गर्दा चीनले रुसबाट थप तेल किन्न पाएको थियो ।
अर्कोतर्फ, कम्प्युटर चिप्स जस्ता उच्च–प्रविधि उपकरणहरूको रूसको आवश्यकता पूरा गर्न चीन एक महत्वपूर्ण साझेदार बनेको छ ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युट र कार्नेगी एन्डोमेन्ट फर इन्टरनेशनल पिस जस्ता अमेरिकी थिंक ट्याङ्कहरूको प्रतिवेदनले रुसले आयात गर्ने कम्प्युटर चिप्सको ठूलो हिस्सा चीनबाट आउने गरेको देखाउँछ ।
सांघाई एकेडेमी अफ ग्लोबल गभर्नेन्स एण्ड एरिया स्टडिजका प्रोफेसर याङ चेङ ‘जटिल ऐतिहासिक अविश्वास र वैचारिक भिन्नता’ का कारण रूस र अमेरिकाबीचको सम्बन्ध पूर्णरुपमा स्थापित हुने सम्भावना कम देख्छन् ।
“रूसले अमेरिकी विदेश नीतिको एकपक्षीय साधन बन्नुको सट्टा रणनीतिक स्वायत्तता कायम राख्नेछ,” उनले भने ।
“मलाई लाग्छ, पुटिन केही समयका लागि अमेरिकी दृष्टिकोणमा सहमत हुन सक्छन्, तर अमेरिकाले जे प्रस्ताव गरे पनि उनी चीनसँगको आफ्नो सम्बन्धमा सम्झौता गर्नेछैनन्,” स्वीडिश इन्स्टिच्युट अफ इन्टरनेशनल अफेयर्सका डा. हेनरिक वाचमेस्टर भन्छन् ।
उनी थप स्पष्ट पार्छन्, “स्रोत–साधनको मामिलामा रूस र चीन स्वभाविक सहयोगी हुन् । रूस र अमेरिकाको हकमा यस्तो छैन । तेल र ग्यास व्यापारका हिसाबले उनीहरू एक–अर्काको प्रतिद्वन्द्वी हुन् ।”
के व्यक्तिगत कारणले ट्रम्प रुसको पक्षमा उभिएका हुन् ?
डा. एलिनका अनुसार, ट्रम्पले रुस र पुटिनलाई समर्थन गर्नुको कारण कूटनीतिक रणनीति होइन । यो ‘धेरै व्यक्तिगत’ हो र उनको पहिलो कार्यकालदेखि नै यो जारी छ । रुसमाथि अमेरिकी राष्ट्रपतिको चुनावी अभियानमा हस्तक्षेप गरेको आरोप लागेको थियो । ट्रम्प र उनको टोलीमाथि रुससँग साँठगाँठ गरेको आरोप लागेको थियो ।
ह्वाइट हाउसमा जेलेन्स्कीसँगको हालैको भेटमा ट्रम्पले पुटिनबारे भनेका थिए, “म उनलाई लामो समयदेखि चिन्छु । रुसबारे गरिएका दुष्प्रचारबाट हामी दुवै एकसाथ गुज्रनुपर्यो ।”
“ट्रम्पले आफूलाई पुटिन जस्तै अवस्थामा देख्छन्, प्रतिशोधले ग्रस्त,” डा. एलिन भन्छिन् ।
लन्डन स्कूल अफ इकोनोमिक्सका प्रोफेसर विली भन्छन्, “हामीलाई थाहा छ, ट्रम्प र पुटिनबीच राम्रो सम्बन्ध छ । यो तबजदेखि छ, जब उनले त्यहाँ मिस वल्र्ड प्रतियोगिता आयोजना गरेका थिए र रूसले उनको घरजग्गा परियोजनाहरूमा धेरै पैसा लगानी गरेको थियो, जसका कारण उनी फस्टाए ।” ट्रम्पको रुससँग सधैं राम्रो अनुभव रहेको बुझाई उनको छ ।