
काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत मन्जिभ सिंह पुरीले नेपालमा राजातन्त्रको समर्थनमा भएका प्रदर्शन शुद्धरूपमा जनतामा आधारित नभएको बताएका छन् । केही समूहले युवाको निरासालाई राजतन्त्रको पुनर्स्थापनासँग जोडेर दुरुपयोग गरिरहेको उनको भनाइ छ ।
एसियन न्युज इन्टरनेसनल (एएनआई)को पोडकास्टमा पुरीले भनेका छन्, “पूर्वराजा ज्ञानेन्द्र हालै सार्वजनिक भएपछि एयरपोर्ट बाहिर केही समर्थक जम्मा भए । सोही समयमा २० हजार गणतन्त्र समर्थकरुले अर्को स्थानमा राजतन्त्रको विरोधमा प्रदर्शन गरे । केहीले यो राजतन्त्रसँग जोडेर ‘अतितको रोमान्टिसाइज’ पनि गरे । तर, अधिकांश नेपाली जनता प्रजातन्त्रसँग जोडिएका छन्, उनीहरू उन्नत प्रजातन्त्र चाहन्छन् ।”
उनले अगाडि थपे, “राजा ज्ञानेन्द्र काठमाडौंमै बस्छन्, कुनै निर्वासनबाट फर्किएका थिएनन् । राजतन्त्र विरोधी प्रदर्शनको तुलनामा राजाको समर्थनमा आयोजना गरिएका प्रदर्शनहरूमा मानिसहरूको सहभागिता साधारण नै थियो ।”
'२० वर्षमा प्रगति भयो, तर जनआकांक्षा अझ धेरै बढी'
पूर्वराजदूत पुरीले सन् २००६ मा राजनीतिक सहमतिबाट राजतन्त्र अन्त्य गरिएपछि नेपालले ऐतिहासिकरूपान्तरण गरेको पनि बताए । “तर, आधुनिक विश्वमा सरकारले दिनसक्ने भन्दा धेरै जनआकांक्षा छिटो बढ्छ । यो निरासा युरोप, अमेरिका र अन्यत्र पनि देखिन्छ । नेपाल अल्पविकसित देशबाट उक्लिएको छ, तर २० वर्षको राजनीतिक सशक्तीकरणपछि पनि जनआकांक्षा झन् बढ्दो छ।”
निरासाको कारण : राजनीतिक अस्थिरता
नेपाली जनतामा निरासाको कारणका सन्दर्भमा पूर्वराजदूत पुरीले प्रजातन्त्रले दीर्घकालीन फाइदा दिए पनि युरोपजस्तो जीवनस्तर प्राप्त गर्न समय लाग्ने बताए । उनले भने, “नेपालले विश्वव्यापीकरणको तीव्र प्रभाव अनुभव गरेकाले पनि जनआकांक्षा धेरै बढेको छ ।”
उनले भने, “नेपालमा अधिकांश नेता ‘म्युजिकल चेयर’ खेल्छन्, देशको विकासभन्दा आफ्नो फाइदामा ध्यान दिन्छन्, जनता निराश छन् । भारत–चीनबीचको संवेदनशील भू–राजनीतिमा परिपक्व नेतृत्व आवश्यक छ ।”
राजनीतिक अस्थिरतालाई प्रमुख चुनौती मान्दैगर्दा उनले जी–७ सदस्य इटालीमा पनि यस्तै समस्या रहेको उदाहरण दिँदै यसबाट अगाडि बढ्न सकिने बताए ।
'नेपालको भूगोल चुनौतीपूर्ण, नेपाली राजनीतिको पुरानो खेल– भारत कार्ड'
पूर्वराजदूत पुरीले नेपालको भूगोललाई कठिन बताउँदै यसलाई परिपक्वतापूर्वक व्यवस्थापन गर्नुपर्ने बताए । यसमा उनले दुई सुझाव दिएका छन् । पहिलो– भारत, चीन र पश्चिमा देशसँग सन्तुलित कूटनीति । दोस्रो– जनताको आकांक्षालाई चिनेर र ग्रहण गर्ने ।
उनले नेपाली राजनीतिमा ‘भारत कार्ड’को पनि चर्चा गरे । सन् २०१५ को ‘तथाकथित’ नाकाबन्दीमा प्रधानमन्त्री केपी ओलीले भारत कार्डको प्रयोग गरेको भन्दै उनले भने, “२० वर्षअघि उनी हाम्रा मित्र थिए । महाकाली सन्धिको समयमा उनले यसलाई समर्थन गरेका थिए । तर, नेपाली नेताहरूले आवश्यक परेमा ‘भारत कार्ड’ खेल्न हिचकिचाउँदैनन्, किनभने उनीहरूका लागि सत्ता र भ्रष्टाचार नै प्राथमिकता हुन् ।”