
काठमाडौं । रोमानियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित राष्ट्रवादी उमेदवार जर्ज सिमियन विजय भएका छन् ।
सिमियनले ४० प्रतिशत मत प्राप्त गर्दै प्रथम स्थान प्राप्त गरेका छन् । १८ मेमा हुने दोस्रो चरणको निर्वाचनमा उनी प्रवल दावेदारको रूपमा देखिएका छन् ।
बुखारेस्टको उदारवादी मेयर निकुसोर डान र सत्तारूढ गठबन्धनको उमेदवार क्रिन एन्टोनेस्कु समान २१/२१ प्रतिशत मत ल्याएर दोस्रो स्थानमा प्राप्त गरेको बीबीसीले जनाएको छ ।
चुनावी धाँधली र रूसी हस्तक्षेप भएको भन्दै ६ महिना अघि भएको रोमानियाको राष्ट्रपति निर्वाचन रद्द गरिएको थियो । उक्त निर्वाचनमा कालिन जोर्जेस्कू विजय भएका थिए ।
आइतबार मतदान समाप्त भएपछि सिमियनले भने, “यो साहस, विश्वास र एकताको प्रतिफल हो ।”
सिमियन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक हुन् । उनले बीबीसीलाई भने, “म बलियो नेटोको पक्षमा विश्वास राख्छु र राष्ट्रपति बनेमा रोमानियामा नेटो अड्डा र अमेरिकी सेना राख्ने पक्षमा छु ।”
यसअघि विजयी जोर्जेस्कुलाई पुनः निर्वाचनमा भाग लिनबाट रोकिएको थियो ।