site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
युवा र हट्टाकट्टा देखिने व्यक्तिमा नै बढ्दैछ क्षयरोग, कारण के हो ?

काठमाडौं । नेपालमा पछिल्लो दशक सामान्य क्षयरोग (टीबी)का बिरामीको संख्या बढ्दै गएको छ । प्रत्येक वर्ष करिब ७० हजार टीबीका नयाँ बिरामी थपिइरहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।

सार्क मुलुकहरूले सन् २०३० सम्ममा बर्सेनि थपिने क्षयारोगीको संख्या ८० प्रतिशतले र क्षयरोगका कारण हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेका छन् । तर, पछिल्ला वर्षहरूमा भने युवा र हट्टाकट्टा देखिने व्यक्तिमा पनि यो समस्या बढ्दै गएको देखिएको छ । उनीहरूमा फोक्सोसम्बन्धी अन्य संकमण पनि फरक स्वरुपमा बढिरहेको चिकित्सकहरू बताउँछन् । किन बढ्दैछ टीबी र अन्य श्वासप्रश्वासजन्य रोगीको संख्या ? प्रस्तुत छ, बाह्रखरीकर्मी अस्मिता रिजालले छाती तथा निन्द्रारोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यसँग गरेको भिडियो कुराकानी ।

पछिल्ला वर्षहरूमा छातीसम्बन्धीका कस्ता बिरामी बढी देखिएका छन् ?
पछिल्ला केही वर्षयता कडा भाइरस, आस्थमा, सीओपीडी, सामान्य टीबी लगायतका बिरामी बढिरहेका छन् । पछिल्ला दुई महिनायता भने काठमाडौंमा सामान्य रुघाखोकी र भाइरलको असर पनि कडा रूपमा देखिएको सामान्य औषधिले निको नभएका, दीर्घरोगहरू पनि पटक–पटक बल्झिएका बिरामीको संख्या बढ्दो क्रममा छ । सामान्य लक्षण देखिएर आइपुग्ने बिरामीमा टीबी पुष्टि भएका केस पनि धेरै छन् । मैले हेर्ने बिरामीमध्ये झन्डै ५० प्रतिशतमा टीबी संक्रमण भएको पाएको छु । मासिक १५ देखि २० जनामा टीबी निदान भइरहेको छ ।

छातीसम्बन्धी यस्ता समस्या बढ्नुको कारण के देख्नुभएको छ ?
पछिल्लोसमय बढ्दो वायु प्रदूषण, भाइरसको बदलिँदो स्वरुप श्वासप्रश्वासजन्य रोगका मुख्य कारण देखिन्छन् । यस्तै, युवावर्गमा धुमपान, मद्यपान र इ–सिगरेट, हुक्काजस्ता पदार्थको सेवनले पनि फोक्सोसम्बन्धी रोग बढाएको छ । टीबी सरुवारोग भएका कारण परिवार तथा संक्रमितको सम्पर्कमा आएका धेरैमा यो समस्या फैलिएको पाइन्छ ।

Achyutbhakta-acharya-(1)-1741482640.JPG
वायु प्रदूषणसँग एक्स्पोज हुने, धुमपान गर्ने र घरमै रहनेहरूमा फोक्सोसम्बन्धी समस्या कति फरक छन् ?
जोखिमका हिसाबले सवारीसाधन चलाउने वा बाहिर यात्रा गरिरहने बढी हुन्छन् नै । उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्तिमा पनि यस्ता समस्या बढी नै पाइन्छ । किनकी उनीहरू पीएम १० र पीएम २.५ दर उच्च भएको वायुमा एक्स्पोज भइरहेका हुन्छन् । यस्तो वायु शरीरका भित्री तथा बहुअंगसम्म पुगेर असर गर्छ ।

यस्तै, धु्मपानले फोक्सोमा भएका सुरक्षा प्रणालीमा असर गर्छ, मुख श्वास र फोक्सोसम्मको प्रणाली परिवर्तन गरी विभिन्न रोग निम्त्याउँछ  । तर, घरभित्रै रहनेमा पनि दाउराबाट निस्कने धुवाँ, एलपी ग्याँस, ओभन, अन्य मेसिन लगायतबाट निस्कने वायु प्रदूषणले असर पारिरहेको हुन्छ । यस अर्थमा फोक्सोसम्बन्धी समस्याको जोखिमबाट कोही  पनि पूर्ण सुरक्षित छैन भन्न सकिन्छ ।

पछिल्लोसमय हट्टाकट्टा र स्वस्थ देखिने व्यक्तिमा पनि टीबी संक्रमण भएको देखिन्छ यो कस्तो अवस्था हो ?
टीबी संक्रमणको अवस्था नेपालमा अझै भयावह नै छ । यो श्वासप्रश्पासबाट ब्याक्टेरियाका कारण हुने भएकाले एकअर्कामा सर्ने रोग भयो । यसले विशेषगरी इम्युन पावर कम भएका, खानपान राम्रो नभएकालाई थप जोखिम बढाउँछ । पछिल्ला वर्षहरूमा खानपान सुधार हुँदा कडा टीबी कम भएको छ ।

तर, सामान्य टीबी रोगी भने बढिरहेका छन् । कतिपय युवामा नपत्याउँदो रूपमा मेडिकल गर्दा फोक्सोमा दाग देखिन्छ भने कतिलाई अन्य रोग परीक्षण गर्दा टीबी देखिन्छ । अहिले लक्षण फरक भएको टीबी रोगीको संख्या धेरै छ । मकहाँ आइपुगनेमा कडा टीबी १/२ प्रतिशत मात्रै छ भने बाँकी ९० प्रतिशत सामान्य टीबी हुन्छ । कतिपयमा भने परिवारक सदस्यबाट सबैमा संक्रमण सरेको पनि पाइएको छ । यसको मुख्य कारण वायु प्रदूषण, धुमपान लगायतले फोक्सोमा  पार्ने असर हो भने चाँडो आपसमा सर्नु पनि हो ।

Achyutbhakta-acharya-(2)-1741482641.JPG
सामान्य र कडा टीबीका बिरामीमा कस्ता कस्ता जटिलता हुन्छन् ?
सामान्य अर्थात् टीबीमा धेरैजसो नदेखिने लक्षण हुन्छन् परीक्षणपछि मात्रै पहिचान हुन्छ । सामान्यतः यस्तो टीबी ६ महिनाको उपचारपछि निको हुन्छ । सामान्य टीबीको औषधि नियमित नभए वा राम्रोसँग उपचार नभए कडा टीबी हुने जोखिम हुन्छ । कडा टीबीमा औषधि र उपचार २४ महिनादेखि ३६ महिनासम्म पनि गर्नुपर्ने हुनसक्छ । सामान्य टीबी निको हुने दर ९० प्रतिशतसम्म हुन्छ भने कडा भएमा यो दर ६० देखि ७० प्रतिशत मात्रै हुन्छ ।

कस्ता लक्षण देखिए टीबी संक्रमण भएको आशंका गर्ने ?
छाती मात्र नभइ अन्य रोगका लक्षणसँग पनि टीबी जोडिएको हुनसक्छ । पहिलेजस्तो लाञ्छनाको अवस्था नभए पनि अहिले पनि कतिपय व्यक्तिलाई टीबी संक्रमण भएको स्वीकार गर्न गाह्रो भएको देख्छु ।

टीबीले शरीरका सबै अंगलाई असर गर्छ नङ र कपालबाहेक । जुनजुन अंगमा यसको संक्रमण छ, त्यसैअनुसार लक्षण देखाउँछ । तर कुनै पनि रोगका बिरामी आए पनि टीबी हुनसक्ने आशंकामा परीक्षण चाहिँ गर्नुपर्छ ।

परिवारमा सर्ने जोखिम धेरै हुने भएकाले पहिचान हुनासाथ औषधि सुरु गरिहाल्नुपर्छ र परिवारका सबै सदस्यको परीक्षण गर्नुपर्छ । फैलिएको टीबीले धेरै अंगलाई असर पुर्‍याइरहेको हुन्छ, टीबी र क्यान्सरका लक्षण उस्तै हुँदा दुवै परीक्षण गर्नु आवश्यक हुन्छ ।

क्षयरोगमा मुख्य उपचार नै औषधि सेवन हो । सरकारले पनि यसका लागि निःशुल्क औषधिको व्यवस्था गरेको छ । टीबीका बिरामीले स्वस्थ तथा ताजा आहार बिहार गर्नुपर्छ । मुख्य कुरा औषधि नियमित खानुपर्छ । दुई हप्ताभन्दा बढी औषधि छुटेमा फेरि सुरुदेखि खानुपर्ने हुन्छ, यसले कडा टीबीको जोखिमलाई बढाउँछ । कडा टीबी घातक हुने भएकाले सामान्य अवस्थामा नै पूर्ण रूपमा औषधि सेवन गर्न सल्लाह दिन्छु ।

Achyutbhakta-acharya-(4)-1741482641.jpg
फोक्सो स्वस्थका लागि कस्ता बानी बढी घातक छन् ?
मुख्यतः फोक्सोमा संक्रमण मौसम, खानेकुरा, धुवाँधुलो आदिले हुनसक्छ । तर, बल्झिरहने समस्यामा भने व्यक्तिपिच्छे कारण फरक हुनसक्छन् । कसैलाई खानेकुरा, गन्ध, रुम फ्रेसर, परफ्युम, घरमा पालिएका जनावर, कार्पेटको धुलो लगायतले पनि फोक्सोमा समस्या हुनसक्छ । आफ्नो शारीरिक अवस्था हेरेर यी कुराहरूमा सावधानी अपनाउनुपर्छ ।

तर, पछिल्लोसमय युवा वर्गमा भने धुमपान र मद्यपान नै मुख्य कारण देखिएको छ । नियमित धुमपान नगर्नेमा फोक्सोसम्बन्धी रोगको जोखिम बढी हुन्छ । यस्तै, हुक्काले चुरोटभन्दा धेरै नराम्रो असर पुर्‍याउँछ, एक हुक्का २०० चुरोट बराबरको घातक हुन्छ । भेपिङ, इ–सिगरेट जस्ता पदार्थ चुरोटभन्दा धेरै हानिकारक हुन्छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ०७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro