
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति सरकारको व्यवहार ठिक नभएको बताएका छन् । शनिबार (फागुन २४) सिन्धुलीमा आयोजित एक कार्यक्रममा उनले सरकारले कुलमानलाई किचकिच गरिरहेको जस्तो देखिने बताएका हुन् ।
कुलमानलाई सरकारले पटक–पटक स्पष्टीकरण सोधेको र कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएकाप्रति उनले असन्तुष्टि जनाए । उनले कुलमानको नामै भने उल्लेख गरेनन् ।
“एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ । किचकिच किचकिच गरिरहेको जस्तो देखिन्छ,” उनले भने, “यस्ता कुराहरू ठिक होइन । उपयुक्त हुँदैन । यस्ता नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नु हुन्न ।”
मन्त्रीहरू नचाहिने काममा लागे रोक्ने कार्य प्रधानमन्त्रीको भएको उनले उल्लेख गरे । “प्रधानमन्त्री भनेको सरकारको, त्यो क्याबिनेटको मास्टर हो,” उनले भने, “उसले राम्रो कामको श्रेय पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ ।”
कुलमानतर्फ संकेत गर्दै उनले तीन/चार महिनापछि सेवानिवृत्त भएसँगै उपयुक्त व्यक्ति ल्याउन सकिने सरकारलाई सुझाव दिए । “मैले बुझ्न सकेको छैन, बदनियत हो कि ढंग नपुगेको बेढंग हो, तीन/चार महिनामा सेवानिवृत्त हुने, तीन/चार महिनापछि सेवानिवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने,” उनले भने ।
सके राम्रो, नसके नराम्रो काम नगर्न उनले आग्रह गरे । आफूहरू सरकारको सहयोगी भएको र राम्रो काम गरोस् भन्ने चाहेको उनले बताए । उनले सरकारमा कांग्रेसबाट प्रतिनिधित्व गरेका परराष्ट्र, स्वास्थ्य, वनमन्त्रीले राम्रो काम गरिरहेको पनि बताए ।
विद्युत् प्राधिकरण ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको निकाय हो । हाल ऊर्जामन्त्री कांग्रेसकै दीपक खड्का छन् ।