
चितवन । वन्यजन्तुको आक्रमणमा चालु आर्थिक वर्षमा चितवनमा दशजनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठजना, हात्ती र बाघको आक्रमणबाट एक–एकजनाको मृत्यु भएको हो ।
यस आर्थिक वर्षमा जंगली जनावारका कारण १४ जना घाइते भएका छन् । गैँडाको आक्रमणबाट १२ जना, हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् ।
निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि रु दुई लाखसम्म सरकारी अस्पतालको उपचार खर्च व्यहोर्ने गरेको छ ।
हालसम्म रु ९४ लाख ६१ हजार ९३१ राहतस्वरुप प्रदान गरिएको उनले बताए । राहतस्वरुप प्रदान गरिएको रकम अन्नबाली र घरटहरामा समेत उपयोग भएको छ ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जंगली जनावारको आक्रमणका कारण अकालमा मृत्यु वरण गर्नुपरेको उनले बताए ।
उनले भने, “निकुञ्जभित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी बनाउन सकेमात्र मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूकीकरण गर्न सकिन्छ ।”
अहिले निकुञ्जले यस क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी (ताल, तलैया एवं पोखरी) व्यवस्थापन लगायत क्षेत्रमा काम गरिरहेको उनले बताए ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाइएको छ ।
निकुञ्जले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको जनाएको छ । रासस