
काठमाडौं । टर्कीको स्तानबुलमा हुने रुस र युक्रेनबीचको शान्ति वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् ।
बिहीबारदेखि हुने वार्तामा भाग लिने व्यक्तिहरूको सूचीमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन ।
रूस र युक्रेनबीचको तीन वर्ष चलेको पूर्ण युद्धको अन्त्य गर्नेबारे शान्ति वार्ता बिहीबारदेखि सुरु हुँदै छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई वार्तामा सहभागी हुन आह्वान गरे पनि रुसले उनलाई सूचीबाट बाहिर राखेको बीबीसीले जनाएको छ ।
वार्ताको बारेमा रुसले जारी गरेको बक्तव्यमा रूसी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्कीले गर्नेछन् ।
यसअघि जेलेन्स्कीले रूसी राष्ट्रपतिले सहमति जनाएमा उनी वार्तामा सहभागी हुने र पुटिनसँग आमने–सामने भेट्ने बताएका थिए । उनले सो भेटघाट सुनिश्चित गर्न सबै सम्भव प्रयास गर्ने पनि बताएका थिए ।
युक्रेनी राष्ट्रपति बिहीबार टर्कीको राजधानी अंकारामा राष्ट्रपति रेसेप तायियप एर्दोगानसँग भेट्ने तयारीमा छन् ।
पुटिन र जेलेन्स्की सन् २०१९ डिसेम्बरपछि आमने–सामने भेटेका छैनन् । रूस र युक्रेनले यसअघि मार्च २०२२ मा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए । बीबीसी