site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि रूस–युक्रेन युद्ध निरन्तर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार तनावपूर्ण भेटवार्तापछि रूससँग युद्धविरामको सम्भावना तत्काल हटेको छ ।

अमेरिकी राष्ट्रपतिको कार्यकक्ष ओभल अफिसमा ट्रम्प र  जेलेन्स्कीबीच वार्ता भएको थियो । विभिन्न सञ्चारमाध्यमले लाइभ गरेको करिब ५० मिनेटको वार्ताको अन्तिम दश मिनेटमा तनाव चर्किएको थियो ।  

वार्ताले नराम्रो रूप लिएपछि तय गरिएको भोज कार्यक्रम रद्द भएको थियो । अमेरिका र युक्रेनबीच महत्त्वपूर्ण ठानिएको खनिज सम्झौता हुन सकेन ।  दुई देशबीचको सम्बन्धमा असर परेसँगै रूस र युक्रेनबीच जारी युद्ध अन्त्य हुने सम्भावनाको अवधि थप लम्बिएको छ ।

तनावको सुरुआत

वार्ताको सुरुआति अवधि सामान्य रूपले अघि बढे पनि ट्रम्पको लगाव खनिज सम्झौतामा देखिन्थ्यो । जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीलाई प्राथमिकतामा राखेका थिए । जेलेन्स्कीले लगाएको लुगालाई लिएर पनि प्रश्न उठेपछि उनले त्यो सहनु परेको थियो ।

बैठक सुरु हुनुअघि जेलेन्स्की ह्वाइट हाउस पुग्दा ट्रम्पले स्वागतकै क्रममा लुगालाई लिएर टिप्पणी गरेका थिए । 

जेलेन्स्कीले सैन्य ड्रेससँग मेल खाने स्वेटर्स लगाएका थिए । युक्रेनमा युद्ध सुरु भएपछि आफ्ना सैनिकसँग ऐक्यबद्धता जनाउन उनले यस्ता ड्रेस लगाएको बताएका छन् ।

बैठकका क्रममा पत्रकारहरूबाट प्रश्न लिन थालेसँगै केबल नेटवर्क रियल अमेरिकाज भ्वाइसका प्रमुख ह्वाइट हाउस संवाददाता ब्रायन ग्लेनले जेलेन्स्कीको लुगामाथि प्रश्न गरे ।

“तपाईं किन सुट लगाउनु हुन्न ? तपाईं यस देशको सबैभन्दा उच्च कार्यालयमा हुनुहुन्छ र तपाईंले सुट लगाउन अस्वीकार गर्नुभयो,” ग्लेनले प्रश्न गरे, “के तपाईंसँग सुट छ ? यो कार्यालयको गरिमाको सम्मान नगरेकाले धेरै अमेरिकीलाई यसले असर गरेको छ ।”

यो प्रश्नले असहज बनेका जेलेन्स्कीले युद्ध सकिएपछि कोट, पाइन्ट लगाउने र त्यो प्रश्नकर्ताको भन्दा राम्रो वा नराम्रो जस्तो पनि लगाउनसक्ने भनेर जवाफ फर्काएका थिए ।

वार्तामा ट्रम्पले रूसी राष्ट्रपति भ्लोदिमिर पुटिनसँग मिलेर मध्यस्थकर्ताका रूपमा युद्ध रोक्न काम गर्ने भनेका छन् ।  जेलेन्स्कीले माग गरेको र पत्रकारहरूले प्रश्न गरिरहे जस्तो युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिने विषयमा भने उनी बोल्दैनन् ।

ट्रम्पले सुरुमा खनिज सम्झौता महत्त्वपूर्ण भएको र त्यसपछि युद्ध रोक्ने काम दुई प्रतिशत मात्रै हुने टिप्पणी गर्छन् । “म बीचमा छु । म यो समाधान गर्न चाहन्छु । दुवैतर्फ सैनिक र मानिसहरू मरिरहेका छन् त्यसलाई रोक्न चाहन्छु,” ट्रम्पले भने ।

सुरक्षा ग्यारन्टी नदिए पनि खनिज सम्झौतापछि युक्रेनको स्थिति बलियो बन्ने संकेत ट्रम्पले गरिरहेका थिए ।

“हामीले सम्झौतामा हस्ताक्षर गरेपछि तपाईं धेरै राम्रो स्थितिमा हुनुहुनेछ । तर तपाईंले त्यसअनुसार कृतज्ञ हुने किसिमको व्यवहार गरिरहनुभएको छैन र म भन्छु कि यो राम्रो होइन,” ट्रम्पले भेटको अन्त्यमा भनेका थिए ।

तिम्रो भनाइ के हो जेडी ?

सबैभन्दा धेरै विवाद ‘कस्तो कूटनीतिको कुरा गर्दै हुनुहुन्छ ?’ भनेर जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेम्स डेभिड (जेडी) भान्सलाई प्रश्न गरेपछि चर्किएको थियो ।

त्यसअघि ट्रम्पलाई पुटिनसँग बढी झुकाव भएको हो कि भनेर प्रश्न सोधिएको थियो ।

ट्रम्पले आफ्नो झुकाव विश्वसँग भएको, युरोपसँग भएको भनेर जवाफ फर्काउँछन् । पुटिन र जेलेन्स्कीबीच आक्रोश भए पनि आफूले सम्झौताका लागि पुटिनसँग मिलेर काम गर्नुपर्ने टिप्पणी ट्रम्पले गर्छन् ।

“तपाईंले मलाई कठोर हुन चाहनु भएको हो,? म तपाईंले कहिल्यै नदेखेको जस्तो कठोर मान्छे बन्न सक्छु, तर त्यस्तो तरिकाले हामी कहिल्यै सम्झौता गर्न सक्दनौँ,” ट्रम्पले पुटिनसँग किन सहज भएको हो भन्ने प्रश्नको जवाफमा भनेका थिए ।

यसबाट पनि ट्रम्पले शान्ति सम्झौतालाई केन्द्रमा राखेको संकेत गरेका थिए ।

यसै प्रश्नमा जवाफ थप्दै उपराष्ट्रपति भान्सले भनेका थिए, “विगत चार वर्षसम्म हामी अमेरिकासँग प्रेस कन्फरेन्समा उभिएर पुटिनबारे कडा टिप्प्णी गर्ने राष्ट्रपति थिए । त्यसपछि पुटिनले युक्रेनमा आक्रमण गरे र महत्त्वपूर्ण हिस्सा सखाप पार्‍यो ।”

“शान्तिको बाटो र समृद्धिको बाटो भनेको कूटनीतिमा संलग्न हुनु हुनसक्छ, अमेरिका कूटनीतिमा संलग्न भएर मात्रै अमेरिका राम्रो देश बन्नसक्छ र त्यो नै राष्ट्रपति ट्रम्पले गरिरहेका छन्,” उनले भने ।

यसपछि जेलेन्स्कीले सन् २०१४ यता पुटिनले बाराक ओबामा, ट्रम्प, जो बाइडेन र अहिले फेरि ट्रम्प प्रशासनमा आक्रमण गरेको तथा आफ्ना नागरिकको ज्यान लिएको र कसैले नरोकेको टिप्पणी गरे ।

“सन् २०१९ मा म पहिलोपटक राष्ट्रपति हुँदा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मन चान्सलर एन्जेला मर्केलसहित पुटिनसँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थिए, ग्याँस सम्झौतामा हस्ताक्षर गरेको थिए तर उसले सम्झौता भंग गर्‍योे, आक्रमण गर्‍योे, मेरा नागरिकको ज्यान लियो, तिमी कस्तो कूटनीतिको कुरा गर्दैछौँ जेडी ?,” जेलेन्स्कीले भनेका थिए ।

उपराष्ट्रपति भान्सले भनेका थिए “कूटनीति जसले तपाईंको देशको विनाश रोक्छ,” जेलेन्स्कीले जेडी भनेकोसहित स्थितिलाई सामान्य बनाउन खोज्दै उनले अघि भने, “राष्ट्रपतिज्यू सम्मानका साथ, मलाई लाग्छ कि ओभल अफिसमा आएर अहिले अमेरिकी मिडियाको अगाडि यो मुद्दा ल्याउन खोज्नु अपनामनजनक हुनसक्छ, तपाईंलाई सैन्य संकट छ हाम्रो राष्ट्रपतिले त्यो समाधान गर्न खोज्दै हुनुहुन्छ त्यसमा तपाईं कृतज्ञ हुनुपथ्र्याे ।”

“संयुक्त राज्य अमेरिकाको अफिसमा आएर तपाईंको देशको विनाश रोक्न खोजिरहेको प्रशासनलाई आक्रमण गर्न खोज्नु सम्मानजनक हो भन्ने लागिरहेको छ ?,” भान्सले जेलेन्स्कीलाई प्रश्न गरे ।

युद्धमा समस्या हुन्छ, तिमीहरूले भविष्यमा महसुस गर्छाै

त्यसपछि जेलेन्स्कीले आफ्नो देशको समस्याबारे बोल्न त्यहाँ कहिल्यै गएका छौ भनेर समेत भान्सलाई सोध्छन् ।

त्यसपछि जेलेन्स्की भन्छन्, “युद्धको समयमा सबैलाई समस्या हुन्छ, तपाईंलाई पनि । तर तपाईंसँग राम्रा समुन्द्र छन् अहिले महसुस गर्नुहुन्न । तर तपाईंले भविष्यमा यो महसुस गर्नुहुनेछ,”

जेलेन्स्कीको यस्तो भनाइले ट्रम्प आक्रोशित बनेका थिए । “हामीले के महसुस गर्छाैं भन्ने कुरा हामीलाई नभन्नुस् । तपाईं त्यो निर्देशन दिने पदमा हुनुहुन्न,” अमेरिकी भविष्यमाथि जेलेन्स्कीको टिप्पणीको प्रतिक्रियामा ट्रम्पले भने ।

“तपाईं कार्ड खेल्दै हुनुहुन्छ, तपाईं लाखौँको ज्यानसँग जुवा खुल्दै हुनुहुन्छ, तपाईं तेस्रो विश्वयुद्धका लागि जुवा खेल्दै हुनुहुन्छ,” ट्रम्पले भनेका थिए ।

त्यसपछि जेलेन्स्की निरन्तर ट्रम्प बोलिरहँदा उनको कुरा काट्दै बीचमा बोल्छन् । 

सोहीबीचमा भान्सले गत सन् २०२४ को अक्टोबरमा पेन्सिलभेनियामा आएर वर्तमान विपक्षी (कमला ह्यारिस)को पक्षमा भोट मागेको कुरा स्मरण गराउँछन् र ट्रम्पले युक्रेन जोगाउन खोजिरहेको भन्दै धन्यवाद व्यक्त गर्न आग्रह गर्छन् ।

त्यसपछि ट्रम्पले अरुसँग सम्झौता भंग गरे पनि पुटिनले आफूसँग भएको सम्झौता भंग नगर्ने प्रतिबद्धता गर्छन् । 

नागरिकको ज्यान गुमिरहेको, सेनाको अभाव भइरहेको र पूर्वाधार नष्ट भइरहेको बेला युद्धविराम गर्न खोज्दा युद्धविराम चाहिँदैन भन्दै अन्य डिमान्ड गरिरहेको भन्दै ट्रम्पले आक्रोश पोखेका थिए ।

ट्रम्पले वार्ताका क्रममा जेलेन्स्कीलाई ओबामाले ‘सिट’ मात्रै दिएको र मैले ‘ज्याभ्लिन’ दिएको कुरा सम्झिन भनेका थिए ।

तनावपूर्ण वार्ताको अन्त्यतिर ट्रम्पले भने, “मेलै तपाईंलाई कडा हुन प्रोत्साहन गरेको थिए र मलाई लाग्दैन तपाईं अमेरिकाबिना त्यस्तो हुनसक्नुहुन्छ । तपाईंका नागरिक निकै साहसी छन् ।”

“कि सम्झौता हुन्छ कि हामी बाहिरिन्छौँ र हामी बाहिरियौँ भने तपाईं आफैँ लड्नुहुनेछ र मलाई लाग्दैन यो राम्रो होला,” अन्त्यमा ट्रम्पले पत्रकारहरूतर्फ हेर्दै भने, “मलाईं लाग्छ हामीले धेरै देखिसक्यौँ, तपाईंलाई के लाग्छ, यो निकै राम्रो टेलिभिजन प्रसारण हुनेवाला छ ।”

ट्रम्पले आफूलाई शान्ति निर्माताको रूपमा चिनिन चाहेको टिप्पणी गरेका थिए ।

जेलेन्स्कीका कठोर टिप्पणी

सुरुको करिब आधा घण्टासम्म दुवै राष्ट्रपतिबीच मात्र भइरहेको वार्ता सामान्य किसिमले चलेको थियो । तर त्यसबीच जेलेन्स्कीका केही टिप्पणी भने ट्रम्प वा ट्रम्प प्रशासनलाई केही असहज गराउने किसिमका भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तर केहीले ह्वाइटहाउसमा बोलाएर जेलेन्स्कीको अपमान गरेको बताएका छन् । 

अमेरिकाले हालसम्म ३५० अर्ब अमेरिकी डलरको सहायता उपलब्ध गराएको भनिरहँदा जेलेन्स्कीले युरोपले युक्रेनका लागि निकै धेरै सहयोग गरेको भन्छन् । ट्रम्पले त्यसको प्रतिक्रियामा धेरै हो तर कम हो भन्दा जेलेन्स्की निरन्तर ‘नो’ ‘नो’ भन्छन् ।

ट्रम्पले सहानुभूतिका हिसाबले युक्रेनी सहर र भवन भत्किएका छन् भनेका बेला जेलेन्स्कीले हैन, हामा सहर राम्रा छन्, बच्चाहरू स्कुल गइरहेका छन्, मानिस काममा गइरहेका छन् भनेर प्रतिकारात्मक टिप्पणी गर्छन् ।

यी लगायत दुवै पक्षका विभिन्न टिप्पणीले वार्तामा विवाद चर्किएको थियो । भेटवार्तापछि जेलेन्स्कीले फक्स न्युजसँगको अन्तर्वार्तामा यो दुई राष्ट्रपतिबीचको कुरा मात्रै नभएर दुई देशबीचको सम्बन्ध रहेको बताएका छन् ।

वार्ताले दुई देशबीचको सम्बन्धमा असर पारेको भन्दै उनले यस विषयमा क्षमा मागेका छन् । ट्रम्प प्रशासनले तत्काल खनिजसम्बन्धी सम्झौता कहिले हुने टिप्पणी गरेको छैन ।

रूससँगको युद्धपछि युक्रेनले आफ्नो सैन्य क्षमता बढाएको छ । तर अमेरिका र युरोपेली मुलुकको सहयोग युक्रेनका लागि अपरिहार्य छ ।  ट्रम्प–जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि दुई देशबीचको सम्बन्ध सहज भएर खनिज सम्झौता र युद्धविरामको प्रक्रिया कसरी र कहिले अघि बढ्छ भन्ने अस्पष्ट बनेको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro