site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारत–पाकिस्तानले सीमा नाघेर अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई गरे फिर्ता

काठमाडौं । चार दिनको युद्धपछि युद्धविराम गर्न सहमत भएका भारत र पाकिस्तानले बुधवार एक/एकजना कैदी आदानप्रदान गरेका छन् । 

दक्षिण एसियाली आणविक शक्ति सम्पन्न यी दुई देशहरूले युद्धको नजिकै पुगेर फर्किएको केही दिनपछि यो आदानप्रदान भएको द इन्डिपेन्डेन्ट अनलाइनले जनाएको छ । 

पाकिस्तानले गत महिना उत्तरी पञ्जाब प्रदेशमा अन्जानमा सीमा नाघेर पाकिस्तानी भूभागमा पसेको भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का एक जवानलाई भारत फिर्ता गरेको छ । 

पाकिस्तानी हिरासतमा तीन हप्ता बिताएपछि बीएसएफको कन्स्टेबल पूर्णमकुमार शालाई फिर्ता गरिएको हो । बीएसएफका अनुसार उनी अप्रिल २३ मा फिरोजपुर क्षेत्रमा ड्युटी गर्दा पाकिस्तानी सीमा नाघेका थिए ।

उनको फिर्ती बीएसएफले पाकिस्तानी रेन्जर्ससँग नियमित बैठक तथा अन्य संचारमाध्यमबाट गरेको लगातार प्रयासले सम्भव भएको समाचारमा बताइएको छ ।

बीएसएफका अनुसार पश्चिम बंगालका कन्स्टेबल शालाई स्थानीय समय अनुसार विहान १०ः३० बजे अमृतसरनजिकैको अटारी सीमामा रहेको संयुक्त जाँच चौकीमा स्थापित प्रोटोकलअनुसार हस्तान्तरण गरिएको हो । 

कन्स्टेबल शाको परिवारले उनको फिर्ती ठूलो राहत महसुस गरेको बताएका छन् । इन्डिया टुडेले उनको परिवारका एक सदस्यलाई उदृत गर्दै भन्यो, “यी दुई हप्ताको समय हाम्रा लागि न रातमा निद्रा न भोक, एकदमै अनिश्चितताबीचको समय थियो । हामी उनको सुरक्षाको चिन्तित रहेका थियौँ ।”

भारतीय कन्स्टेबलको फिर्तीको बदलामा भारतले पञ्जाब रेन्जर्सका मुहम्मद उल्लाहलाई फिर्ता गरेको थियो । उल्लाहले मे ३ मा पाकिस्तानबाट सीमा नाघेर भारतीय जमीनमा आएको बताइएको थियो । द इन्डिपेन्डेन्ट

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्