site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
राजाको पालामा लेपन गरिएको 'महेन्द्र गोल्डकप'को सुन ‍हरायो !

विराटनगर । पूर्वराजा महेन्द्रको पालामा लेपन गरिएको विराट गोल्डकप (लोकतन्त्रपछि नाम फेरिएको) फुटबल टुर्नामेन्टको ट्रफीबाट सुन हराएको खुलेको छ । 

विराटनगरमा विसं २०१८ सालदेखि बर्सेनि आयोजना गर्ने गरी महेन्द्र गोल्डकप नाम राखेर प्रतियोगिता आरम्भ गरिएको थियो । लोकतन्त्र स्थापनापछि भने प्रतियोगिताको नाम फेरिएको छ ‌। कोसी प्रदेशको राजधानी विराटनगरस्थित सहिद रंगशालामा भोलि (सोमबार) देखि नयाँ संस्करण आयोजना हुँदै छ । 

यसको तयारीका सम्बन्धमा जानकारी दिन आइतबार मोरङ व्यापार संघको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । तर, कार्यक्रममा प्रदर्शनमा राखिएको ट्रफीको रंग सेतो देखिन्थ्यो । त्यसको पछाडि तामाको नक्कली ट्रफी राखिएको थियो । त्यो भने प्रतियोगिताको विजेताले साथै लैजान्छन् ।

सक्कली र ऐतिहासिक ट्रफी सेतो देखेपछि पत्रकारहरूले सोधे– 'लेपन गरिएको सुन सुन खोइ ? कहाँ हरायो ? कसले लग्यो ?'

विगतमा 'सुनको पहेँलो रंगको ट्रफी रहेको तर इतिहास नै मेट्ने गरी रंग किन फेरिएको हो ?' भन्दै फ्लोरबाट प्रश्न उठेको थियो ।

सुनका सम्बन्धमा विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति, २०८१ का संयोजक नवीन रिजालले यसबारे आफूलाई जानकारी नै नभएको बताए ।

"ट्रफीको कलरको जे कुरा छ, त्यो मलाई जानकारी भएन । मैले यसलाई छोएको पनि छैन । सेतो किन र पहेँलो किन छैन ? मैले २७ दिनदेखि ट्रफी हेरेको मात्र छु, स्टिल त माझ्दा खिइन्छ, त्यही भएको होला मलाइ थाहा भएन," रिजालले भने, "सुनको पातलो पत्र राखिएको हुन्छ होला, के भयो मलाई थाहा भएन । खिइएर गयो कि !," रिजालले भने ।

उनी विराट गोल्डकप ट्रस्टका टस्ट्रिज पनि हुन । ट्रफीमा लेपन गरिएको सुनको परिणामबारे ट्रस्टले समेत हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । फुटबल प्रतियोगिता गर्ने र ट्रफी संरक्षण गर्ने जिम्मेवारी उसकै हो ।  लगातार तीनपटक कुनै टिम विजेता भए उसले सक्कली ट्रफी लैजान मिल्ने बताइन्छ ।

के छ इतिहास ?

विराटनगरमा फुटबलमार्फत खेल गतिविधि बढाउन तत्कालीन राजा महेन्द्रको हुकुमबाट प्रतियोगिता आरम्भ भएको थियो ।
२०१८ सालदेखि उनकै नाममा प्रतियोगिता हुन्थ्यो ‌। त्यसयता ३९ वर्षसम्म नियमित  प्रतियोगिता भए । २०५७ सालदेखि भने ११ वर्षसम्म रोकियो । लोकतन्त्रकालमा नाम परिवर्तन भयो । महेन्द्रबाट विराट गोल्डकप बनाइयो । फेरि २०६८ सालदेखि प्रतियोगिता हुन थाल्यो ‌। बीचमा २०७० मा भएन । प्रतियोगिताको आयोजक परिवर्तन गरी २०७१ बाट पुनः गर्न थालियो । 

सहिद रंगशालामा फ्लडलाइट जडान भएपछि रात्रिकालीन प्रतियोगिता हुँदै आएको छ । परीक्षणस्वरूप एक साल नवीन रिजालकै संयोजकत्वमा बाँसका खाँबाखुट्टीमा फ्लडलाइड झुन्ड्याएर पहिलो रात्रिकालीन स्पर्धा गराइएको थियो । लगत्तै कोसी प्रदेश सरकारले सहिद रंगशालामा स्थायी फ्लडलाइट जडान गरिदियो । त्यसयता भने नियमित प्रतियोगिता हुन थालेको हो ।

घाटामा गोल्डकप

आयोजकका अनुसार, अघिल्ला दुई पटकका प्रतियोगितामा डेढ करोड घाटा भएको थियो । यसपटक पनि ३२ लाख रुपैयाँ घाटा नै रहेको संयोजक रिजालले सुनाए । प्रायोजक र अन्य सहयोगसमेत गरी एक करोड व्यवस्थापन भएको तर अनुमानित बजेटभन्दा ३२ लाख रुपैयाँ अपुग रहेको उनले सुनाए ।

"कहाँकहाँ कम खर्च गर्दा वचत हुन्छ त्यसमा ध्यान दिन्छौँ । सकेसम्म मुनाफामा लगेर ट्रस्टलाई दह्रो बनाउने योजना छ," उनले भने ।

उनले दर्शकलाई बेचिने टिकटबाट घाटा पूर्ति गर्ने योजना रहेको पनि सुनाए ।

यस वर्ष प्रदेश सरकारले ६ लाख र विराटनगर महानगरपालिकाले १६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर, प्रदेशले अघिल्लै वर्षको प्रतियोगितामा कबोलेको रकम समेत नदिएको गोल्डकप ट्रस्टले जनाएको छ । विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले कबोल गरेको रकमसमेत प्रदेशले नदिँदा समस्या भएको बताए । "सहयोग गर्ने भनिन्छ । तर, रकम भने दिँदैनन्," उनले भने ।

प्रतियोगितामा दर्शकको मनोरञ्जनका निम्ति यसपटक राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने बताइएको छ । स्पर्धामा भारतका दुई र नेपालका आठ टिम सहभागी हुँदै छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro