
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाली राष्ट्रिय महिला टिमले बलियो प्रतिद्वन्द्वी थाइल्यान्डविरुद्ध खेल्दै छ । नेपालले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप क्वालिफायरको तयारीका निम्ति थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।
यी दुईबीच यसअघि गएको मे ३० मा बन्द रंगशालाभित्र भएको खेलमा नेपाली टिम १–० ले पराजित भएको थियो । थाइल्यान्डको थम्मासत रंगशालामा नेपाली समयानुसार ४ः४५ बजे आजको खेल सुरु हुनेछ ।
एएफसी महिला एसिया कप छनोटमा नेपाल समूह ‘एफ’मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । समूहबाट विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा स्थान पक्का गर्नेछ ।
छनोटअन्तर्गत नेपालले जुन २९ मा लाओससँग, जुलाई २ मा श्रीलंका र जुलाई ५ मा उज्वेकिस्तानसित खेल्ने तालिका छ ।