site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक अहेबको भरमा पशुपति वृद्धाश्रम, औषधीसमेत छैन पर्याप्त

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा अवस्थित सरकारी तवरबाट सञ्चालित नेपालको एकमात्र समाजकल्याण केन्द्र वृद्धाश्रममा नियमित स्वास्थ्य उपचारमा कठिनाइ भएको छ । वृद्धाश्रममा १ सय ८६ वृद्धवृद्धा आश्रित छन्, तर उनीहरुको स्वास्थ्य उपचारका लागि एकमात्र स्वास्थ्यकर्मी कार्यरत छन् । डाक्टरको दरबन्दी नहुँदा वृद्धवृद्धाले आकस्मिक स्वास्थ्य सेवा लिन पनि पाएका छैनन् । 

वृद्धाश्रममा पर्याप्त औषधिसमेत छैन । “सबैजसो वृद्धवृद्धालाई केही न केही स्वास्थ्य समस्या हुन्छ । उनीहरुलाई बिभिन्न प्रकारको औषधी दिनुपर्ने हुन्छ । सबै औषधी पनि छैन,” आश्रमकी अहेब बिमला सुुवेदीले भनिन्, “कोही त ७ वटा रोगका पीडित छन्, उनीहरुलाई घण्टा–घण्टामा गरी १५ थरिका औषधी खुवाउनुपर्ने हुन्छ ।” कतिले औषधी खाएँ भनेर नखाइदिने, अपांगता भएकालाई उनीहरु बसेकै ठाउँमा गएर औषधी खुवाउनुपर्ने हुँदा एक्लै समयमा उपचार दिन नसकिने उनले गुनासो गरिन् । 

अहेब सुवेदीका अनुसार आश्रममा मधुमेह, मानसिक रोग, हाडजोर्नी, मुटु तथा पाठेघरका रोगी धैरै छन् । आश्रमको एउटा सानो कोठामा औषधी भण्डार गरिएको छ । त्यही औषधी भण्डारमा राखेर सबै वृद्धवृद्धालाई सेवा दिनुपरेको अहेब सुवेदीले बताइन् । त्यसले गर्दा उपचारमा असुविधा भएको छ । 

अहेव विमला सुवेदीले आश्रममा रहेका ६५ देखि १०१ वर्ष उमेरका नागरिकका लागि आफू एक्लैले सेवा गर्न भ्याइनभ्याइ हुने भएकाले गुणस्तरीय उपचार सेवा दिन समस्या भएको बताइन् ।  उनले भनिन्, “सय जना ज्येष्ठ नागरिकहरु दीर्घ रोगी हुनुहुन्छ । अरुलाई पनि स्वास्थ्यको समस्या परिरहन्छ । औषधि खुवाउन, रेखदेख गर्न एक जनाले भ्याउन कठिन छ । तत्काल स्वास्थ्यकर्मी थप्नुपर्ने अवस्था छ ।” रात्रिकालीन हेरचाहका लागि एक स्टाफ नर्स करारमा नियुक्त गरिए पनि पर्याप्त नभएको उनको भनाइ छ । आश्रममा बस्ने कतिपय वृद्धवृद्धामा मनोवैज्ञानिक समस्या पनि रहेको बताइएको छ । 

अधिकांश वृद्धवृद्धालाई जतिसुकै बेला आकस्मिक स्वास्थ्य सेवा दिनुपर्ने आश्रमका प्रशासन प्रमुख कृष्ण कँडेलले बताए । उनले भने, “वृद्धवृद्धालाई साताको तीन दिन विभिन्न संघसंस्थाबाट खटिएका डाक्टरले सेवा दिन आउने गरेका छन् । अन्य ३ जना डाक्टरको माग गरेका छौं । सरकार परिवर्तत भइरहन्छ, अबको सरकारले केही गर्छ कि भन्ने आश छ ।”
नेपाल सरकारको एकमात्र सरकारी वृद्धाश्रमका रुपमा रहे पनि औषधि अभाव र थप उपचारका लागि निजी क्षेत्रसँग सहयोग माग्नुपर्ने अवस्था रहेको कँडेलले बताए । आश्रममा ४० जिल्लाका वृद्धवृद्धाले आश्रय लिइरहेका छन् ।

आश्रमको छेउमै पशुपति क्षेत्र विकास कोषको सार्वजनिक शौचालय भएकाले पनि समस्या भएको प्रशासनले गुनासो गरेको छ । शौचालय आश्रमको भान्सासँग नजिकै भएकाले वृद्धवृद्धाको स्वास्थ्यमा थप असर गरिहेको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भवन निर्माणाधीन रहेकाले बसोबासका लागिसमेत समस्या रहेको वृद्धवृद्धाले गुनासो गरेका छन् । महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले काठमाडौंको गोठाटारमा नयाँ भवनमा आश्रम बनाउने घोषणा गरेको धैरै समय भइसकेको भए पनि काम अगाडि बढेको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ११, २०७४  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro