site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रेनुका नगरकोटे : नेपाली महिला फुटबलले पाएको ‘अनसङ हिरो’

काठमाडौं । सानो कद, शान्त स्वभाव र एकनासको प्रदर्शन । बल पाउनुअगावै कहाँ पास दिने मानसिकता । नेपाली राष्ट्रिय महिला टिमकी डिफेन्सिफ मिडफिल्डर रेनुका नगरकोटेको खेल हेर्दा लाग्छ, उनी चर्चित क्याटालन प्रशिक्षक पेप ग्वार्डिओलाको उत्पादन हुन् । यसमा विशेष कारण पनि छ– ग्वार्डिओलाको सरल प्रशिक्षण नीति ‘पिक द बल पास द बल’ (बल लेउ र बल पास देउ) लाई रेनुका दुरुस्तै मैदानमा उतार्छिन् ।

निःसन्देश रेनुका नेपाली महिला टिमकी आधारभूत आवश्यकता हुन् । डिफेन्सबाट बललाई अट्याकिङ मिडफिल्डरसम्म पुर्‍याउन माहिर उनको खेल हेर्दा बार्सिलोनाका लेजेन्ड सर्जी बुस्केट्सको झल्को दिन्छ । उनको स्वभाव पनि उस्तै छ । न उनी विपक्षी टिमसँग विवादमा तम्सिन्छिन् न त उनलाई चर्को चर्चाको सोख छ ।

फुटबल विश्लेषकका निम्ति रेनुका नेपाली टिमकै सबैभन्दा महत्त्वपूर्ण सदस्य हुन् । तर, आम समर्थकमा रेनुकाबारे खास चर्चा छैन । ‘अन्डररेटेड’ भन्दा फरक नपर्ने । र, पनि यसमा रेनुकालाई कुनै गुनासो छैन ।

Dabur Nepal
NIC Asia

“जितमा सधैँ गोल हान्नेको नाम आउँला । तर, टिमलाई अफ्ठ्यारो पर्दा कसले बचायो । कठिन अवस्थामा खेलाडीले कसलाई बल दिइराखेका छन् भन्दा त्यो हो रेनुका नगरकोटे । मेरो लागि उनी नेपाली टिमकै सबैभन्दा अब्बल खेलाडी हुन्,” नेपालका कमेन्टेटर अमनप्रताप अधिकारीले यसरी रेनुकाको तारिफ गरे ।

Renuka-Nagarkot-1740587600.jpg
बुधबार (फागुन १४ गते) सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल २–० ले पराजित हुँदै उपाधि विमुख भयो । स्वभावैले नेपाली टिमका निम्ति नतिजा निराशजनक रह्यो । तर, यही प्रतियोगिता रेनुकाका निम्ति भने केही विशेष बन्यो । उनी प्रतियोगिताकै सबैभन्दा उत्कृष्ट खेलाडी चुनिइन् । सर्वोत्कृष्ट खेलाडीमा रेनुकाको नाम आएपछि उनले आफ्ना सहकर्मीबाट न्यानो माया पाइन् । दशरथ रंगशालामा यो दृश्य हेर्नलायक थियो । यो रेनुका आफैँलाई पनि अनपेक्षित उद्घोष थियो ।

“प्रतियोगिताको उत्कृष्ट खेलाडीमा मेरो नाम आउँछ भन्ने कल्पना पनि थिएन । एकदमै खुसी लागिरहेको छ,” खेलपछि आयोजित पत्रकार सम्मेलनमा रेनुकाले उत्कृष्ट खेलाडी हुँदाको भावना यसरी पोखिन् ।

रेनुकाको फिल्मी कमब्याक
सन् २०१० मा भएको साफ च्याम्पियनसिपमा नेपालबाट ‘डेब्यु’ गर्दा रेनुकाले तत्कालीन एसएलसी समेत उतीर्ण गरेकी थिइनन् । बंगलादेशमा डिसेम्बर १२ देखि २३ सम्म भएको प्रतियोगितामा नेपालले फाइनलसम्मको यात्रा तय गर्दा रेनुकाले पहिलोपटक अन्तर्राष्ट्रिय खेल र प्रतियोगिताको अनुभव लिइन् ।

सन् २०१२ मा भएको साफ च्याम्पियनसिपमा भने रेनुकाले स्थान बनाउन सकिनन् । त्यसयता उनले २०१४, २०१६, २०१९ र २०२४ को गरी साफ महिला च्याम्पियनसिपका कुल पाँच संस्करणमा प्रतिस्पर्धा गरिसकेकी छन् ।

राष्ट्रिय टिमकी नियमित सदस्य रहे पनि २०७९ यताका डेढ वर्ष रेनुकालाई सबैभन्दा कठिन बन्यो ।

१९औँ एसियाली खेलकुदको तयारीका लागि बन्द प्रशिक्षणमा रहँदा २०७९ असार २० गते रेनुकाको बायाँ क्ल्याभिकल बोन (घाँटीमुनिको हड्डी)मा चोट लाग्यो । असार २१ गते भएको शल्यक्रियापछि क्ल्यारिकल बोनमा स्टिल राखिएको थियो । चोटका कारण रेनुकाले ०७९ भदौ तेस्रो सातादेखि असोज पहिलो सातासम्म घरमै भएको साफ महिला च्याम्पियनसिप गुमाइन् । यो चोटले रेनुकालाई सात महिना मैदानबाहिर बस्न बाध्य बनायो ।

Renuka-_nagarkote-1740660928.jpg
सात महिनापछि सोही वर्षको माघमा रेनुकाले राष्ट्रिय टिममा कमब्याक गरिन् । पहिलोपटक चोट निको भइसकेपछि एक वर्ष खेलिन् । त्यसबेलासम्म फ्याक्चर भएको ठाउँमा स्टिल राखिएको थियो । तर, रेनुकाको यो पुनरागमन एक वर्षभन्दा लामो समय टिक्न सकेन । भारतसँगको दुई मैत्रीपूर्ण फुटबल र चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा सहभागी भएर स्वदेश फिर्ता आएपछि अप्रेसन गरेर स्टिल झिकिन् । त्यसको एक महिनामै फेरि त्यही हड्डी भाँच्चियो । त्यसपछि उनमा झनै तनाव थपियो । चोटले लामो समय मैदानबाट बाहिरिनुअघिसम्म रेनुका नेपाली टिमको नियमित कप्तान समेत थिइन् । मैदानबाट बाहिर हुँदा रेनुकाको कप्तानी भूमिका गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले पाइन् । सन् २०१६ मा अनु लामापछि रेनुकाले राष्ट्रिय टिमको कप्तानी जिम्मेवारी पाएकी थिइन् । तर, पुनरागमनपछि पनि एन्फाले उनलाई कप्तानी जिम्मेवारीमा फर्काउन भने आवश्यक सम्झेन ।

“मेरो लागि ती दिन सबैभन्दा कठिन रहे । त्यसबेला नै साथको अर्थ बुझे । कहिलेकाहीँ परिवारको सहयोगले मात्र नपुग्ने रहेछ । त्यसबेला बाहिरबाट एक्लो भएको अनुभव गरे । दोस्रोपटक चोट लाग्दा पुनरागमन गर्छु भन्ने सोच्न पनि नसक्ने भएकी थिए । तर, आफूले आफैँलाई प्रेरित गरे । आज यहाँसम्म आइपुग्नुमा म आफैँले आफूलाई सबैभन्दा ठूलो प्रेरणा दिएको छु,” बाह्रखरीसँगको कुराकानीमा रेनुकाले यसरी ती दिन सम्झिइन् ।

आफूलाई नै आफ्नो प्रेरणाको स्रोत बनाएकी रेनुकाले राष्ट्रिय महिला लिग–२०२४ बाट दोस्रोपटक फुटबलमा पुनरागमन गरिन् । महिला लिगमा अब्बल प्रदर्शनसहित उदाहरणीय ‘कमब्याक’ गरेकी रेनुकाले यही प्रदर्शन राष्ट्रिय टिमसम्मको आधार बन्यो ।

गत कात्तिकमा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्दा उनको प्रदर्शन लोभलाग्दो थियो । सोही लयमा अडिग रहेकी रेनुका अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको सबैभन्दा उत्कृष्ट खेलाडी चुनिइन् । चोटमा एक्लै लडेकी रेनुका अहिले पुनरागमनपछिको प्रदर्शनबाट नेपाली समर्थक र फुटबल विश्लेषकमाझ चर्चाको विषय बनेकी छन् । उनलाई आफ्नै फुटबल यात्रा फिल्मी कथाजस्तै लाग्छ ।

“फुटबल नै सकियो जस्तो लाग्थ्यो । अहिले यी प्रतियोगिताकै उत्कृष्ट खेलाडीमा मेरो नाम आयो । कसरी ती दिन पार गरियो अहिले सोच्दा आफैँलाई कुनै फिल्मको कहानी जस्तै लाग्छ,” उनले बाह्रखरीसँग भनिन् ।

शेरे गुरु : बिर्सनै नहुने व्यक्ति
आफू फुटबलमा लाग्नुको सबै श्रेय स्वर्गीय ‘शेरबहादुर गुरु’लाई दिन्छिन्, रेनुका । महिला फुटबलको उर्वर भूमिको परिचित चन्द्रपुर (तत्कालीन चन्द्रनिगाह, चपुर)मा मरणोपरान्त पनि उच्च सम्मानित नाम हो, शेरबहादुर दर्लामी । हुन पनि शेरबहादुरले रेनुका र रेनुकाजस्ता कैयन् महिला फुटबलरलाई खुट्टा समातेर बल हान्न सिकाएका थिए । रेनुकाले बुधबार पाएको ‘सर्वोत्कृष्ट खेलाडी’को सम्मान पनि शेरबहादुर गुरुप्रति समर्पित गरिन् ।

“म फुटबलमा जे छु, पछि जे हुनेछु ती सबैको श्रेय शेरे गुरुलाई नै जान्छ । मैले यो हरेकपटक भन्दै आएको पनि छु । मेरो यो उपलब्धि पनि गुरुप्रति समर्पित गर्न चाहन्छु,” रेनुकाले भनिन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro