site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
मदन भण्डारी विश्वविद्यालयका प्राध्यापक डा. राजीव सुब्बाको अध्यक्षतामा एनपी-सर्टको नयाँ कार्यसमिति चयन   

काठमाडौं । नेपालको साइबर सुरक्षा सुदृढीकरणमा सक्रिय संस्था इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम (एनपी-सर्ट) ले नयाँ नेतृत्व चयन गरेको छ । 

शनिबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका सहायक प्राध्यापक तथा सूचना प्रविधि विज्ञ डा. राजीव सुब्बाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्ष पदमा प्रा.डा. सुदन झा, ई. तुलसीराम श्रेष्ठ र सुमन कुमार शर्मा रहनुभएको छ भने महासचिवमा डा. सुमन थपलिया निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा कृष्णप्रसाद पाण्डे र कोषाध्यक्षमा प्रविण खड्का चयन भएका छन् ।

Dabur Nepal
NIC Asia

कार्यकारी सदस्यहरूमा रेजिना डाँगी, ई. रुचि पाण्डे, सुदीप घिमिरे, दीक्षा राउत, ई. सन्तोष श्रेष्ठ र रामकृष्ण दाहाल रहेका छन् ।

साधारणसभामा महासचिवको वार्षिक आर्थिक प्रतिवेदन तथा कोषाध्यक्षको लेखा प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । सो अवसरमा सहभागीहरूले एनपी-सर्टको ब्रान्डिङ सुधार, डेटा सुरक्षामा ध्यान केन्द्रित गर्ने तथा साइबर सुरक्षाको सुदृढीकरणमा संस्थाको भूमिका अझ प्रभावकारी बनाउन सुझाव प्रस्तुत गरेका थिए ।

निवर्तमान अध्यक्ष चिरञ्जीवी अधिकारीले नया कार्यसमितिलाई शुभकामना दिँदै आगामी दिनमा पनि एनपी-सर्ट नेपालमा साइबर सुरक्षालाई सुदृढ बनाउन सक्रिय रहने तथा संगठनको नवीनतम ध्यान र रणनीतिक दृष्टिकोणले साइबर जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहलहरू सञ्चालन गरी राष्ट्रिय साइबर सुरक्षा सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

यसअघि एनपी-सर्टको सल्लाहकार रहेका डा. सुब्बा नेतृत्वको नयाँ कार्यसमितिले संस्थालाई उपल्लो स्तरमा लैजाने योजनासहित आगामी तीन वर्षे कार्यकालका लागि विभिन्न प्राथमिकता र पहलहरू पहिचान गरेको छ । 

अध्यक्ष डा. सुब्बाका अनुसार आगामी कार्यकालमा साइबर सुरक्षालाई जनचेतना, प्रविधि विकास, नीति निर्माण तथा अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट उच्च प्राथमिकतामा राखी विभिन्न कार्यक्रम गरिनेछ ।

यसअन्तर्गत अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा साइबर सुरक्षासम्बन्धी सम्मेलन आयोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा साइबर सुरक्षा चेतना अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन, साइबर सुरक्षा प्रशिक्षण र क्षमता विकास, साइबर सुरक्षामा योगदान दिने व्यक्तिहरूलाई सम्मान, थिंक ट्याङ्क समूह गठन, अन्तर्राष्ट्रिय संस्थाहरू तथा विज्ञहरूसँग सहकार्य, नीति निर्माणमा सरकारलाई सहयोग, डिजिटल फोरेन्सिक ल्याब तथा सुरक्षा सञ्चालन केन्द्रको स्थापना लगायतका योजना राखिएको छ ।

डा. सुब्बाले एनपी-सर्टलाई साइबर सुरक्षाको केन्द्रविन्दु बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, “आजको डिजिटल युगमा साइबर सुरक्षा कुनै विलासिता नभई आवश्यकतामा बदलिएको छ । नेपालमा पनि साइबर अपराधका घटना बढ्दै गएका छन् । यसलाई रोक्न हामीले आफ्नो तर्फबाट अधिकतम पहल गर्नेछौँ । अबको प्राथमिकता साइबर सुरक्षामा जनचेतना बढाउँदै नेपाललाई सुरक्षित डिजिटल राष्ट्रका रूपमा अघि बढाउनु हो ।”

डा. राजीव सुव्बासँग आईसीटी, विपद व्यवस्थापन र साइबर सुरक्षामा करिब ३० वर्षको अनुभव छ । नेपाल प्रहरीका पूर्व डीआईजी समेत रहिसक्नु भएका डा. सुब्बा संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरु तथा तीन अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा कार्य गरिसकेका छन् ।

संयुक्त राज्य अमेरिकाको हवाई विश्वविद्यालयबाट सञ्चार तथा सूचना विज्ञानमा विद्यावारिधि हासिल गरेका डा. सुब्बाले लामो समयदेखि नेपाल सरकारलाई सूचना प्रविधि, साइबर सुरक्षा तथा विपद व्यवस्थापनको नीति निर्माणमा लामो समयदेखि सहयोग गर्दै आएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro