site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
फेरिएको अपराध शैली : ठूला काण्ड सार्वजनिक भए, टुंगोमा पुगेनन् !

काठमाडौं । यो सूचना र प्रविधिको समय हो । प्रविधिको गलत प्रयोगले पछिल्लो समय अपराधको शैलीमै परिवर्तन आएका कारण अनुसन्धान थप जटिल बन्दै गएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

आर्र्थिक लाभका लागि समूह बनाउँदै गुन्डागर्दी गर्ने, चन्दा असुली, अपहरण तथा शरीर बन्धकका घटना क्रमशः कम हुँदै गएका छन् । यद्यपि पूर्णतः रोकिएको छैन । प्रहरीको अभिलेख हेर्दा पछिल्लो समय अत्यधिक मात्रामा अनलाइन ठगी, वैदेशिक रोजगारीका धन्दा, सामाजिक सञ्जाल प्रयोग गरी आर्थिक अपराध बढेको देखिन्छ ।

यो आलेखमा बितेका दशकका केही ठूला र चर्चित अपराधका घटना केलाउने प्रयास गरिएको छ ।

Dabur Nepal
NIC Asia

अपराध १ – सहकारी ठगीको जालो

सबैभन्दा जटिल र पेचिलो आर्थिक अपराधको सूचीमा दर्ज भएको छ, सहकारी ठगी प्रकरण ।

नयाँ संविधान २०७२ जारी भएसँगै सरकारले तीनखम्बे नीति लियो, जसमा एक खम्बामा सहकारी पनि राखियो । सँगै सहकारी संस्थाहरू धमाधम खुले । यद्यपि, सहकारीको अवधारणा पुरानै हो ।

समुदायका व्यक्तिहरू संगठित हुँदै आबद्ध सदस्यको हित–प्रवर्द्धन गर्न सिर्जना गरिएका संस्था हुन्, सहकारी । तर, सहकारी सञ्चालक बचतकर्ताका रकम हिनामिनामा संलग्न हुँदै गएपछि प्रकरणकै रूप धारण गरिरहेका छन् ।

यसरी बचतकर्ता ठगिएको तथ्य–तथ्यांक सार्वजनिक हुने क्रम केही वर्षयता तीव्र गतिमा छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेसँगै घटना बाहिरिन थालेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तामाङसहित १२ जनालाई ०७८ असोज १८ गते ठगी मुद्दामा पक्राउ गरेको थियो ।

सीआईबीले सहकारी ठगी प्रकरणबारे अनुसन्धान थालेको पहिलो घटना सिभिल सहकारी हो । संगठित रूपमा ठगी गरेको खुलेपछि सीआईबीले तामाङविरुद्ध संगठित ठगी मुद्दा चलाउँदै अनुसन्धान गर्‍यो । तामाङले सिभिल सहकारीमा जम्मा भएको पाँच अर्ब ६३ करोड २६ लाख रुपैयाँ अपचलन गरेको खुलेको थियो । हाल उनी पुर्पक्षनिम्ति थुनामा छन् । उनी एमालेबाट संविधानसभा सदस्य समेत बनेका थिए ।

त्यसयता सहकारी ठगी एकपछि अर्को गर्दैै प्रकरणकै रूप धारण गर्दै छन् । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ‘कसुरदार’मा दर्ज भएपछि यसको चर्चाले उचाइ लिएको हो ।

ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राईले सञ्चालन गरेको पोखराको सूर्यदर्शन सहकारीसहित पाँच सहकारीमार्फत रकम ठगी गरेको आरोपमा रवि पक्राउ परेका हुन् । उनलाई प्रहरीले ८४ दिन थुनामा राखेर अनुसन्धान गरेको थियो ।

हाल पोखरा, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट उनी धरौटीमा छुटेका छन् । मुद्दा जारी छ ।

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले १० वर्षमा २५८ सहकारीको रकम दुरुपयोग भएको र ६६९ जना पक्राउ परेको तथ्यसहित प्रतिवेदन सार्वजनिक गरिसकेको छ । प्रतिवेदनानुसार, अझै एक हजार ५४० जना फरार सूचीमा छन् ।

त्यसबाहेक छानबिन समितिले अनुसन्धान गरेको २२ समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठाइएका १८ गरी ४० सहकारीको ८७ अर्ब ८९ करोड रुपैयाँ अपचलन भएको निष्कर्ष विशेष समितिले निकालेको छ ।

सहकारी सञ्चालकले बचतकर्ताका रकम पचाउन नक्कली विवाह, अंशबन्डा र पुनः विवाह, नक्कली खाता खोल्ने, नक्कली लेखापरीक्षण, साधारणसभा र प्रतिवेदन तयार पार्नेदेखि नक्कली सेयर सदस्य बनाउने काम गरिएको प्रतिवेदनको निष्कर्ष छ ।

पछिल्ला घटनाक्रमले सहकारी बचतकर्ताका रकम अपचलनका क्रियाकलाप डरलाग्दो भएको देखाउँछ । विगतमा नियमन फितलो हुँदा विकृति बाक्लिएको हो । नियमनका बलिया संस्था सिर्जना हुनुपर्ने देखिन्छ ।

अपराध २ – सत्ता र भुटानी शरणार्थी प्रकरण
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने धन्दाको पर्दाफास दुई वर्षअघि ०७९ चैतमा भयो ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १९ जना पक्राउ परेका थिए ।उनीहरूलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षनिम्ति जेल पठायो ।

०८० मंसिरमा भने उच्च अदालत पाटनले पूर्वगृहमन्त्री खाँण, उनका सहयोगी नरेन्द्र केसीसहित सातजनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो । सचिव पाण्डे, टोपबहादुरसहित ११ जना अझै जेलमा छन् ।

तर, यसको तरंग निरन्तर छ । गएको असार १५ गते शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेपछि प्रकरण झन् चर्किएको थियो ।

झा पक्राउ पर्दा सरकारको नेतृत्वमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्री थिए, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

झा पक्राउ परेको दुई दिनपछि सत्तासमीकरण फेरबदलतिर गयो । संयोग कस्तो रह्यो भने, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा झा पक्राउ परेको केही दिनमै असार १५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

त्यही भेटमा ओलीलाई प्रधानमन्त्रीको ‘अफर’ गरेर फर्किएपछि समीकरण बदलियो । प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लियो । असार २८ मा प्रचण्डले संसद्मा विश्वसको मत नपाएपछि सरकार ढल्यो ।

तत्कालीन गृहमन्त्री लामिछानेले त त्यही दिन सरकार ढल्नुको मुख्य कारण झा पक्राउ पर्नु दाबी संसद्मै गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ०८० जेठमा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पहिलोपटक ३० जनाविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध कसुरमा मुद्दा दर्ता गराएको थियो ।

उनीहरूले सयौँजनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुल गरेको आरोप थियो । तर, प्रहरीमा ८१ जनाको मात्र उजुरी परेको थियो । उक्त उजुरीका आधारमा आरोपितबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो । हाल उक्त मुद्दा काठमाडौं अदालतमा विचाराधीन छ ।

अपराध ३ – नरोकिएको सुन तस्करी, विवादित प्रहरी

सुन तस्करी प्रकरण नेपालमा लामो समयदेखि चलिरहेको अर्को संगठित अपराधको ठूलो जालो हो, बितेका १० वर्षमा यो अझ बढी चर्चामा रह्यो ।

०८१ साउन २ मा सवारीसाधनको ‘ब्रेक सु’मार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन भन्सार पार गरेर बाहिरिँदै गर्दा सिनामंगलबाट नियन्त्रणमा लिएको थियो, राजस्व अनुसन्धान विभागको टोलीले । सुरुआती अनुसन्धान विभाग आफैँले गर्‍यो । विभागले पछि अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दियो ।

६० दिन अनुसन्धान गरेको सीआईबीले सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकसहित २९ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन बुझाएको थियो ।

मुख्य योजनाकार तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसहितको समूहले कम्पनीहरू सञ्चालन गरी ३६० किलो सुन तस्करी गरेको भन्ने सीआईबीको प्रतिवेदनका आधारमा तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरिएको थियो । उक्त प्रकरणमा नौ चिनियाँ र २३ नेपाली पक्राउ परेका थिए । तर, अनुसन्धान गरेको सीआईबी नै पछि विवादमा पर्‍यो ।

सीआईबीका तत्कालीन प्रमुख किरण बज्राचार्यसहित अनुसन्धानमा खटिएका सबै प्रहरी अधिकारी परिवर्तन गरिएको थियो । ०७५ माघ ७ मा पनि विमानस्थल भन्सार पार गरी ३३ किलो सुन भित्र्याइएको थियो, दशककै त्यो चर्चाको विषय बन्यो ।

तर, सम्बधित ठाउँमा नपुर्‍याई उक्त सुन गायब पारिएको थियो । सुन हराएको विषयमा मोरङको उर्लाबारीका सनम शाक्यलाई यातना दिँदै तस्करी गर्ने समूहले हत्या गरेको थियो । ३३ किलोको अनुुसन्धान गर्ने प्रहरी अधिकारी जेल नै बस्नुपरेको थियो ।

उक्त प्रकरणको अनुसन्धान तत्कालीन अपराध महाशाखाले गरेको थियो । त्यो कार्यालयका प्रमुख एवं एसएसपी दिवेश लोहनीसहित दर्जन प्रहरी अधिकारी जेल पुगेका थिए । 

पछि उनीहरूलाई अदालतले सफाइ दियो । ३३ किलो सुन तस्करीका मुख्य आरोपित मोरङका चूडामणि उप्रेती ‘गोरे’सहित आठजना अझै जेलमा छन् । प्रहरीको इतिहासमा ०७४ भदौमा सबैभन्दा धेरै सुन एकैपटक बरामद गरियो । तत्कालीन अपराध महाशाखाको टोलीले क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरेको थियो ।

बरामद सुन चिनियाँ नागरिक पेन वेइमिङको थियो । सहयोगी पक्राउ परे पनि उनी फरार भए । सुन ओसारिएको बा१७च ६४२७ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको थियो ।

अपराध ४ – कानुनी दायरामा बम्जन, अल्झनमै निर्मला हत्या प्रकरण

बितेका पाँच साल प्रहरीको फरार सूचीमा रहेका ‘लिटिल बुद्ध’ भनी प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन गत वर्ष कानुनी दायरामा आए । ०८० पुसमा सीआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

०७३ मा आफ्नै आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारी यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप उनीमाथि छ । बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतले ०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो ।

सर्लाही अदालतले उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको छ । हाल उनी जेल सजाय भोगिरहेका छन् ।

तर, ६ वर्षअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको अनुसन्धान जहाँको त्यहीँ छ । ०७५ साउन १० गते घरबाट साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो ।

हत्याको एक महिनापछि ०७५ भदौमा प्रहरीले कञ्चनपुरकै दिलीप विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।  तर, पछि दिलीपको डीएनए परीक्षण नमिल्दा उनी छुटे ।

त्यसपछि प्रहरीले सयौँको डीएनए परीक्षण गर्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।

निर्मला हत्याको अनुसन्धानका क्रममा कमजोरी गरेको भन्दै गृह मन्त्रालयले त्यति बेला कञ्चनपुर प्रहरी प्रमुखदेखि अनुसन्धानमा खटिएका आठ अधिकारीलाई कारबाही गरेको थियो । हाल कारबाही फुकुवामा हुँदै कतिपय अवकाशमा समेत गइसकेका छन् । तर, निर्मला हत्याको अनुसन्धान जहाँको त्यहीँ छ ।

अपराध ५ – गुन्डागर्दीमाथि प्रहरी ‘इन्काउन्टर’को दशक

गएको दशक गुन्डागर्दीविरुद्ध प्रहरी आक्रमणकै रूपमा उत्रियो । आपराधिक समूह बनाएर व्यवसायीलाई धम्क्याउँदै रकम असुली तथा निर्माण व्यवसायीबाट हप्ता असुली गर्ने समूहमाथि प्रहरी निर्मम बन्यो । गुन्डागर्दीमा संलग्न चारजना प्रहरी ‘इन्काउन्टर’मा मारिए ।

प्रहरीको अपराध महाशाखाको टोलीले ०७१ साउनमा चर्चित गुन्डा नाइके ‘चरी’ अर्थात् दिनेश अधिकारीमाथि गोली हान्यो । आठ राउन्ड गोली लागेसँगै घटनास्थलमै चरी मारिए । तत्कालीन अपराध महाशाखाको टोलीले धादिङका चरीलाई भीमढुंगामा गोली हानेको थियो । 

त्यसको एक वर्षपछि ०७२ मा अर्का गुन्डा नाइके कुमार श्रेष्ठ उर्फ ‘घैँटे’ पनि प्रहरी इन्काउन्टरमा मारिए । काठमाडौंको सामाखुसीमा घरनजिकै उनी प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

चरी र घैँटेपछि प्रहरीको इन्काउन्टरमा मारिने अरू गुन्डा नाइकेहरू हुन्, रुपन्देहीका मनोज पुन र सोम आलेमगर । उनीहरूलाई सीआईबी र रुपन्देही प्रहरीको संयुक्त टोलीले ०७४ फागुनमा रुपन्देहीको देवदहमा गोली हानेको थियो ।

उनीहरूबाहेक प्रहरीले योबीचमा दर्जन व्यक्तिमाथि गोली चलाएको छ । तीमध्ये केहीले ज्यान गुमाए । केही व्यक्ति घाइते भएका थिए ।

पुन र आलेले गुन्डा नाइके समीरमान सिंह बस्नेतको योजनामा गोली हानी निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको हत्या गरेका थिए । दुई करोड रुपैयाँ नदिएको भन्दै उनीमाथि बानेश्वरमा गोली प्रहार गरिएको थियो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्य प्रहरीको सक्रियता, प्रविधिको विकास र सामाजिक परिवर्तनका कारण पहिलाको तुलनामा फिरौती, गुन्डागर्दी तुलनात्मक रूपमा कम हुँदै गरेको बताउँछन् ।

उनी भन्छन्, “१० वर्ष पहिलाजसरी ठूला व्यवसायीलाई धम्की दिँदै फिरौती माग्ने समूह छैनन् । अपहरणका घटनामा कमी आएको छ । अपराध गर्दा कुनै पनि अवस्थामा जे पनि हुनसक्छ भन्ने भय अपराधिक समूहलाई परेको छ ।”

अर्कोतर्फ, वर्षौंदेखि शक्तिको आडमा किर्ते गरेर सरकारी जग्गा हत्याउने समूहमाथि सरकार निर्मम भएर उत्रियो । त्यसको अनुसन्धान सीआईबीले गर्‍यो । 

१० वर्षमा कति घटे घटना ?

बितेको एक दशकमा घटित यी केही ठूला अपराध मात्रै हुन् । यीबाहेक देशभरका प्रहरी कार्यालयमा अनेक शीर्षकमा दैनिक सयौँको संख्यामा उजुरी पर्ने गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको पछिल्लो १० वर्षको तथ्यांकानुसार, सबैभन्दा बढी अपराध गएको आर्थिक वर्षमा भएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा कुल ५९ हजार २०४ अपराधका घटना भएको अभिलेख प्रहरी प्रधान कार्यालयसँग छ ।

त्यसमा पनि सबैभन्दा बढी बैंकिङ कसुर, ठगी, सार्वजनिक हितविपरीतका अपराधका घटना देखिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ५६ हजार ३२३ अपराधका घटना घटेको अभिलेख प्रहरीको छ । २०७८/०७९ मा ४६ हजार ९०२ अपराधका घटना भएको तथ्यांक छ ।

२०७७/२०७८ मा ४० हजार १२० र २०७६/२०७७ मा ४१ हजार ८९८ अपराधका घटना भए । यसरी बितेका १० आर्थिक वर्षमा कुल चार लाख १४ हजार ९०८ अपराधका घटना भएको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ ।

प्रहरीमा पर्ने उजुरीमा ज्यानसम्बन्धी, आत्महत्या, चोरी, संगठित अपराध, सामाजिक अपराध, भवितव्य ज्यान तथा महिला बालबालिकासम्बन्धी अपराध र सवारीसाधन शीर्षकअन्तर्गतका अपराधका घटना हुने गरेका छन् ।

यसरी घटित घटनामध्ये सबैभन्दा धेरै भवितव्य ज्यानसम्बन्धी रहेको प्रहरीको तथ्यांकमा देखिन्छ । १० वर्षको अवधिमा भवितव्यमा ज्यान गुमाउनेको संख्या ४१ हजार ३०० छ । भवितव्यमा कुलमध्ये सबैभन्दा बढी ०८० सालमा पाँच हजार २१७ जनाले ज्यान गुमाएका छन् । ०७९ मा पाँच हजार १७, ०७८ मा चार हजार ८४५ जनाले भवितव्य घटनाका कारण ज्यान गुमाएको तथ्यांक छ ।

०७७ मा चार हजार ६७१ र ०७६ मा चार हजार २०० जनाको ज्यान भवितव्य घटनाका कारण गुमेको छ । सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या समेत भवितव्य घटनामै जोडिएको हुँदा यसको तथ्यांक बढी देखिएको प्रहरीले जनाएको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro